हेटौँडाः चितवनमा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, दासढुङ्गामा ना ५९ प २६२१ नम्बरको मोटरसाइकल र ना ६५ प ७२२५ मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ६५ प ७२२५ नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–७ का ४० वर्षीय प्रकाश बाबु थापाको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–७ का ५८ वर्षीय तिलक बहादुर थापा, रत्ननगर नगरपालिका–१३ बस्ने वर्षीय २२ को सुदर्शन आचार्य र ४४ वर्षीया साबित्री आचार्य घाइते भएका थिए । घाइते ३ नै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा सुदर्शन आचार्यलाई थप उपचारका लागि टिचिङ अस्पताल काठमाडौं रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, भरतपुर महानगरपालिका–१ स्थित मन्दिरपेटिमा एक जना पुरुष मृत फेला परेका छन् । सोमबार बेलुका ७ बजेर ३० मिनेटको समयमा नारायणी किनारमा रहेको हरिहर मन्दिर अगाडि पेटिमा मागी खाई हिँड्ने नामथर नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष बेवारिसे अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
राप्ती नगरपालिका–२, शिवशक्ति सामुदायिक वनमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिलनटोल बस्ने ५८ वर्षीय रत्न बहादुर प्रजा रहेको प्रहरीले जानकारी दिएको छ । प्रजा आइतबार बिहान १० बजेको समयमा चन्दनको रूखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडी गम्भिर घाईते भएका थिए । घाइते प्रजालाई जंगलबाट घर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।