हेटौंडाः “२३ औँ सशस्त्र प्रहरी दिवस २०८०” को अवसरमा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले विविध कार्यक्रम गरी मनाएको छ ।
दिवसको अवसरमा माघ ४ गते अमर सशस्त्र प्रहरी हवल्दार माधव प्रसाद सापकोटाको सम्झनामा पाथिभरा मन्दिर परिसरमा चौतारा निर्माण तथा उद्घाटन, भेटघाट तथा अन्तरक्रिया गरिएको थियो । दोस्रो दिन ५ र ६ गते ऐतिहासिक स्थलहरु पाटी–पौवा, मन्दिर, पार्क, बाटोलगायत धार्मिकस्थलहरुको सरसफाई गरेको थियो । यस्तै ७ गते हेटौंडा उपमहानगरपालिका भित्र रहेको नवज्योति माविमा भूकम्पको समयमा अपनाउनुपर्ने सतर्कता सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै १४ नम्बर गण मद्दती सेवा गुल्म बीच भलिबल खेल भएको थियो । माघ ८ गते वृक्षरोपण गरिएको थियो भने ९ गते स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा गणका सशस्त्र प्रहरी, पत्रकारहरु गरी २२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको अवसरमा अमर सशस्त्र प्रहरी हवल्दार माधव प्रसाद सापकोटाको आमाबुवालाई हिटर, फाइवर सिरक प्रदान गरिएको थियो । कार्यक्रमका बीच गणमा रहेर एक वर्षको कार्यको मुल्याङ्कन गर्दै ६ जना प्रहरीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सशस्त्र प्रहरी हवल्दार नवराज सुवेदी, सशस्त्र प्रहरी सहायक हवल्दार कमल थापा, सशस्त्र प्रहरी जवान छलिमाया भोलन, सशस्त्र प्रहरी जवान राजेन्द्र कुमार राना, सशस्त्र प्रहरी जवान बसन्त प्रसाद भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार यसोदा केसी रहेका छन् । कार्यक्रममा भलिबल खेलको विजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टरका गणपति अनिल कार्कीले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको बताउनुभयो ।