हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ७ दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सुरु भएको छ । सहकारी संस्थाको स्वास्थ्य तथा वातावरण उपसमितिको आयोजनामा आइतबारबाट माघ १३ गते शनिबारसम्म स्वास्थ्य परीक्षण हुने सहकारी संस्थाका व्यवस्थापक प्रकाश खनालले जानकारी दिनुभयो ।
शिविरमा ७ दिनसम्म रक्तचाप र मधुमेहको निःशुल्क परीक्षण गरिनेछ । शिविरको पहिलो दिन २ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षण गराएका करिब एक सय जनालाई मधुमेहको समस्या देखिएको छ भने ६० जनालाई रक्तचापको समस्या देखिएको छ ।
व्यवस्थापक खनालका अनुसार संस्थाले ७ दिनमा एक हजार ५ सय जनाको स्वास्थ्य जाँच गर्ने लक्ष्य लिएको छ । शिविरमा सबैजनाले सहभागिता जनाउन पाउनेछन् । हेटौंडाका बासिन्दाहरुको स्वास्थ्य राम्रो होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको खनालले बताउनुभयो । स्वास्थ्य शिविर कार्यक्रम सहकारीको वार्षिक कार्ययोजनाअनुसार गरिएको उहाँले बताउनुभयो ।
सहकारीले ८–९ वर्षदेखि नै आँखा, पाठेघरलगायतका स्वास्थ्य शिविर गर्दै आएको छ । स्वास्थ्य जाँचमा हेटौंडाका प्राविधिक दुई जनाले ब्लड स्याम्पल जाँच गरिरहेको खनालले बताउनुभयो ।