फाइल तस्विर ।

हेटौँडाः हेटौँडा–१, राप्तीतटमा रहेको तरकारी तथा फलफूल थोक बजारमा बजारमा केही तरकारीको मूल्य घटेको छ । अघिल्ला दिनहरुको तुलनामा मंगलबार केही तरकारीको मूल्य घटेको हो ।

यसअघि ३० देखि ४५ रुपैयाँसम्ममा बिक्री हुने गरेको बन्दाकोभी अहिले १५ रुपैयाँ प्रतिकेजीमा पनि राम्ररी बिक्री नभएको व्यवसायी दीपेन्द्र महतोले जानकारी दिनुभएको छ । आर्थिक मन्दीको अवस्थाले गर्दा तरकारीको मूल्यमा कमी आएको महतोले बताउनुभयो । किसानसँग पैसा नभएको समयमा मलको मूूल्यवृद्धि भएकाले तरकारीको मूल्य घटेको उहाँले बताउनुभयो । कोरोनाका कारण भएको लकडाउनको समयदेखि नै देशको आर्थिक स्थिति कमजोर बनाएको उहाँको भनाइ छ ।

अहिले थोक बजारमा प्याज ५० रुपैयाँ प्रतिकेजी, टमाटर २२ रुपैयाँ प्रतिकेजी र गाँजर २० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ । लप्सी ७० रुपैयाँ प्रतिकेजी, माछे खुर्सानी ५० रुपैयाँ प्रतिकेजी, खुर्सानी ५० रुपैयाँ प्रतिकेजी र मुला १० रुपैयाँ प्रतिकेजीको दरले बिक्री भएको छ । यस्तै, रायोको साग ८ रुपैयाँ प्रतिमुठा, केराउ कोसा ७० रुपैयाँ प्रतिकेजी र बन्दा १५ रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ । माघे संक्रान्तिको आसपास बढी बिक्री हुने तरुल ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको व्यवसायीको भनाइ छ ।