हेटौंडाः हेटौंडा सिमेण्ट उद्योग सञ्चालन गर्न माग गर्दै अखिल नेपाल औद्योगिक मजदुर संघले ८ दिनसम्म आन्दोलन गर्ने भएको छ । मजदुर संघले पुस २४ गतेदेखि माघ २ गतेसम्म हेटौंडा सिमेण्ट उद्योगको प्रशासनिक भवन अगाडि कालोपट्टी बाँधेर धर्ना दिने भएको छ । मजदुर संघले ७ दिनसम्म ९ बजेदेखि ११ बजेसम्म दिनको २ घण्टा धर्ना बस्ने र अन्तिम दिन ३ घण्टा धर्ना बस्ने अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष दिपक सिंह थोकरले जानकारी दिनुभयो ।
उद्योग दसैँबाट नै ठप्प रहेको उहाँले बताउनुभयो । सिमेण्ट उद्योगले कोइला नभएको, चुनढुङ्गा नभएको भन्दै उत्पादन नगरेको उहाँको भनाई छ । मजदुर संघ उद्योग सञ्चालन गर्नुपर्ने माग राखी पेश गरेको अल्टिमेटमका व्यवस्थापनले वास्ता नगरेको र विभिन्न बहाना बनाई उत्पादन नगरेको समेत उहाँले आरोप लगाउनुभयो । अत्यावश्यकीय कच्चा पदार्थ हालसम्म पनि पर्याप्तरुपमा जम्मा गर्न नसकेको र उद्योग नियमित सञ्चालन गर्न कुनैपनि प्रयत्न नगरेको भन्दै अखिल नेपाल औद्योगिक मजदुर संघ, हेटौंडा सिमेण्ट उद्योग लिमिटेड आन्दोलन गर्न बाध्य भएको अध्यक्ष थोकरको भनाई छ ।