विद्यार्थीलाई पुरस्कृत गरे पछि सामुहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माविको ५८ औं वार्षिकोत्सव आइतबार मनाइएको छ । आइतबार विशेष समारोहका बीच वार्षिकोत्सवको अवसरमा आयोजित विविध खेलकुद कार्यक्रममा सहभागी विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईवाकर मैनालीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु भुर्तेलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो ।

वार्षिकोत्सव समारोहमा विद्यार्थीले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए भने शिक्षकले पनि नृत्य प्रस्तुत गरेका थिए । विद्यालयलको वार्षिकोत्सवको अवसरमा तीनदिन विविध खेलकुद तथा रचनात्मक कार्य गरिएको प्रधानाध्यापक जीधराज ढकालले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक जीधराज ढकालले विद्यालयको शैक्षिक सुधारका लागि सकारात्मक प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

५ कक्षासम्म पूर्णतः अंग्रेजी माध्यममा पठनपाठन भइरहेको र ६ कक्षादेखि १० कक्षासम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन भइरहेको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक ढकालले अभिभावकको तर्फबाट पनि साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । १२ कक्षासम्म पठनपाठन हुने चन्द्रोदय माविमा एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।