हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई वितरण गर्न हेटौँडा–७ स्थित समृद्ध युवा बचत कोषले ३० थान स्वेटर हस्तान्तरण गरेको छ । बचत कोषका अध्यक्ष दिपेश लामिछाने, संस्थापक अध्यक्ष किरण लामिछानेसहितको समूहले आइतबार दिउँसो विद्यालयमै पुगेर विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र बास्ताकोटीलाई स्वेटर हस्तान्तरण गर्नुभयो ।
बचत कोषले वार्षिक कार्यक्रमकै रुपमा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरेर न्यानो कपडा वितरण गर्दै आएको छ । विद्यालयलाई हस्तान्तरण गरिएको न्यानो कपडा विद्यालयले लक्षित विद्यार्थीलाई वितरण गर्ने प्रधानाध्यापक दाहालले बताउनुभएको छ । विपन्न परिवारका विद्यार्थी लक्षित सहयोग कार्यक्रमले विद्यार्थीको नियमित पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको समृद्ध युवा बचत कोषका अध्यक्ष दिपेश लामिछानेले बताउनुभएको छ ।
यस्तै विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले विद्यालयमा विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा सहयोगले उनीहरुलाई नियमित विद्यालय आउन प्रेरित गर्ने बताउनुभएको छ । स्वेटर हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, श्रमिक पूर्वविद्यार्थी समाजका संयोजक सुरेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।