मुक्तक मञ्चले सम्मान गर्ने तीन स्रष्टा ।

हेटौँडाः मुक्तक मञ्च मकवानपुरले तीनजना साहित्यकारलाई सम्मान गर्ने भएको छ । शुक्रबार बसेको बैठकले “बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०” बाट पोखराका मुक्तककार दीपक समीपलाई, तारा स्मृति सम्मान २०८० बाट हरिकृष्ण काफ्लेलाई र “इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०८०” बाट थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जानलाई सम्मान गर्ने निर्णय गरेको हो ।

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापना गर्नुभएको “बहादुरानन्द स्मृति मुक्तक सम्मान” को राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्ना बाबुको स्मृतिमा स्थापित “तारा स्मृति सम्मान” को राशी ७ हजार ५ सय रुपैयाँ रहेको छ । प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गर्नुभएको “इन्दिरादेवी स्मृति मुक्तक सम्मानको राशी ५ हजार ५ सय ५५ रुपैयाँ छ ।

बैठकले मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिकोत्सव तथा पहिलो अधिवेशन आगामी माघ २७ गते गर्ने निर्णय गरिएको अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभएको छ ।