गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशको सिन्धुली र चितवन जिल्लाको विभिन्न स्थानमा पाँच जनाको मृत्यु भएको छ । शनिबार चितवनमा तीन र सिन्धुलीमा दुई गरी पाँच जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शनिबार साँझ ७ बजेर ३५ मिनेटको समयमा सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ५ स्थित रजे गाउँमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७४ वर्षीय मनबहादुर बुढाथोकी रहेको जनाइएको छ । बुढाथोकी घर नजिक आफ्नै बारी खन्न गएकोमा अबेरसम्म घर नआएपछि आफन्तहरुले खोज्न जाँदा बारीमाथिबाट ढिस्कोले पुरेको अवस्थामा मृत फेला परेका थिए । बुढाथोकी मृत रहेको भन्ने खबर प्राप्त हुनासाथ राति ९ बजेर २० मिनेटको समयमा इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली खटिएको थियो । शनिबार बिहान १० बजेर १५ मिनेटको समयमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ मा एक जना मृत फेला परेका छन् । पहिचान नखुलेको करिब ६० वर्षीय पुरुष सडेगलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । मुचुल्कासहितको प्रहरी टोली घटनास्थलमा पुगेर शवको पोष्टमार्टम गर्न नसक्ने अवस्थामा रहेका कारण शनिबार दिउँसो स्थानीय जनप्रतिनिधिको रोहवरमा लास व्यवस्थापन गरेको जनाइएको छ ।

शनिबार बिहान ५ बजेको समयमा चितवनको भरतपुर–५ स्थित लाइफकेयर सुधार केन्द्रमा राखिएको एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका–८, मगनी चोकका ५६ वर्षीय चित्रबहादुर थापा रहेको प्रहरीले जनाएको छ । अत्यधिक मादिरा सेवन गर्ने गरेको भन्दै थापालाई सुधारका लागि आफन्तले गत पुस १७ गते सुधार केन्द्रमा ल्याइएको थियो । शनिबार थापा एक्कासी बिरामी हुँदा भरतपुर सरकारी अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । यस्तै, शनिबार बिहान ९ बजेको समयमा चितवनको भरतपुर–२३ स्थित घैलाघारीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही ठाउँका ६२ वर्षीय पूर्ण बोटे रहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो १२ बजेको समयमा घरबाट हिँडेका बोटे शनिबार बिहान घैलाघारीस्थित मध्यवर्ती सामुदायिक वनभित्र मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा जङ्गली जनावर गैंडाले आक्रमण गरेकोजस्तो देखिएको र बायाँ हिपमा चोट देखिएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ८ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित महेन्द्रचोकमा एक पुरुष मृत फेला परेका छन् । पहिचान नखुलेको मागेर खाई हिँड्नेजस्तो देखिने करिब ४० वर्षीय पुरुष एक्कासी चौताराबाट लडेर बेहोस भएका थिए । उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पतालमा ल्याइएकोमा राति ९ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए ।