हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत्को हेटौंडा अस्पतालमा मंसिर महिनामा १ सय ४६ जनाको शल्यक्रिया गरिएको छ । एक महिनामा हेटौंडा अस्पतालबाट एक सय ४६ जनाको शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालले निरन्तर सेवाग्राहीलाई शल्यक्रियाको सेवा प्रदान गर्दै आएको छ । मंसिर महिनामा अस्पतालले हाडजोर्नी, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसुती र नाक, कान, घाँटीको शल्यक्रिया गरेको हो ।

अस्पतालले मंसिर महिनामा हाडजोर्नीको ४५ वटा, सामान्य शल्यक्रिया ७५ वटा, स्त्री तथा प्रसुती १९ वटा र नाक, कान, घाँटीको ८ वटा शल्यक्रिया गरेको झाले बताउनुभयो । झाका अनुसार अस्पतालमा २३ जना महिला र २२ जना पुरुषको हाडजोर्नीको शल्यक्रिया गरिएको थियो । हेटौंडा अस्पतालले ३२ जना महिला र ४२ जना पुरुषको सामान्य शल्यक्रिया गर्दा ४ जना पुरुष र ४ जना महिलाको नाक, कान, घाँटीको शल्यक्रिया गरेको हो ।

अस्पतालले हाडजोर्नीको ३० वटा मेजर शल्यक्रिया गर्दा १५ वटा माइनर शल्यक्रिया गरेको हो । यस्तै, सामान्य शल्यक्रियाको ४२ वटा मेजर शल्यक्रिया गर्दा ३३ वटा माइनर शल्यक्रिया, स्त्री तथा प्रसुतीको ६ वटा मेजर शल्यक्रिया गर्दा १३ वटा माइनर शल्यक्रिया र नाक, कान, घाँटीको एउटा मेजर शल्यक्रिया हुँदा ७ वटा माइनर शल्यक्रिया भएको हो । हेटौंडा अस्पतालमा जाँच गर्न आउने बिरामीहरुको चापअनुसार सर्जरी डाक्टरको जनशक्ति कम भएको सर्जरी विभागका मेडिकल अधिकृत राजु शाहले बताउनुभयो । उहाँले बिरामीको चापअनुसार डाक्टर बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार अस्पतालको सर्जरी ओपीडीमा दैनिक २ सयको हाराहारीमा बिरामी आउने गरेका छन् ।

हप्ताको सोमबार र बिहीबारका ििदन हुने शल्यक्रियामा दैनिक २० जनाको शल्यक्रिया हुने गरेको छ । अस्पतालमा शल्यक्रिया गर्ने ३ जना डाक्टर हुनुहुन्छ । अस्पतालमा शल्यक्रिया भएपछि फेरि सामस्या लिएर आउने बिरामीे कम रहेको उहाँ बताउनुहुन्छ । सर्जरी विभागमा बिरामी धेरै गाह्रो भएपछि मात्र आउने र पेट दुख्नेबित्तिकै ग्यास्ट्रिक भनेर बस्ने समस्या धेरै देखेको शाह बताउनुहुन्छ । शाहका अनुसार घाउ गर्मीमा धेरै पाक्ने कुरा एक भ्रम हो । उहाँले स्वच्छतामा कमी आए घाउ पाक्ने प्रष्ट पार्नुभयो ।

हेटौंडा अस्पतालको शल्यक्रिया विभागमा आएका बिरामीमध्ये पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने बिरामीको सूची २०८३ सम्मका लागि पूरा भइसकेको छ । अस्पतालमा आएका बिरामीलाई अत्यन्तै गाह्रो या परिशिष्ट भएर पेट दुख्यो भने तत्काल शल्यक्रिया गर्ने गरिएको छ ।