हेटौंडाः बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ५ जनाको मृत्यु भएको छ । शनिबार बागमती प्रदेशको धादिङ, दोलखा, सिन्धुली र चितवनमा विभिन्न घटनामा परी ५ जना मानिसको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । धादिङको सिद्धलेख गाउँपालिका–२ बस्ने ७५ वर्षीया देउकी लम्साल पण्डित मृत फेला परेकी छिन् । घरबाट हराएकी पण्डित सिद्धलेख–४, धारापानीस्थित खोल्सीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
दोलखाको बिगु गाउँपालिका–४, बिगु स्वास्थ्य चौकी सिंगटीमा एक वृद्धाको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका–४, गोरपाङ बस्ने ७० वर्षीया करलमु शेर्पा बिरामी भई बिगु सिंगटीमा उपचार भइरहेकोमा आइतबार ११ः३० बजे स्वास्थ्य चौकी कम्पाउण्डमा लड्दा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–५, मधुटारमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भित्री सडकखण्डमा सिलामेबाट सिन्धुली आउँदै गरेको ना ५ त ९५१० नम्बरको ट्याक्टरले सोही स्थान बस्ने बलकुमार श्रेष्ठको छोरी ५ वर्षीया निर्जला श्रेष्ठलाई ठक्कर दिँदा निर्जला गम्भीर घाइते भएकी थिइन् । श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनको भरतपुर महानगरपालिका–११, नवजीवन टोलमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–५ बस्ने २८ वर्षीय सुदिप महतो रहेको प्रहरीले जनाएको छ । भित्री सडकखण्डमा पदमपुरबाट भरतपुर आउँदै गरेको ना ४ त ६२१५ नम्बरको अगाडिको इन्जिनमात्र रहेको ट्याक्टरको टायर पञ्चट भई अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । महतोलाई सोही ट्याक्टरको पछाडिको टायरले किच्दा घाइते भई उपचारका लागि जिल्ला अस्पताल लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, भरतपुर महानगरपालिका–१७, गांजीपुरमा एक जनाको शव फेला परेको छ । स्याङ्जा अर्जुन चौपारी गाउँपालिका–९, बस्ने गुरुप्रसाद अर्यालको नारायणी नदीको किनारमा शव फेला परेको हो । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।