हेटौँडाः हेटौँडा–१४, बँदेलधापस्थित सुप्रभात आधारभूत विद्यालयको प्रधानाध्यापक (प्रअ) मा रुपक रिजाल नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको पुस ५ गतेको निर्णयबाट रिजाललाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो । यसअघिकी प्रधानाध्यापक अनिता कुमारी बानियाँले प्रधानाध्यापकको जिम्मेवारीबाट राजिनामा दिनुभएपछि रिक्त रहेको प्रधानाध्यापकको पदमा रिजाललाई नियुक्त गरिएको हो ।

८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक सय ३० जना विद्यार्थी अध्ययनरत छन् । २०७६ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी प्राथमिक तह शिक्षकको रुपमा नियुक्त हुनुभएका रिजाल २०७८ साल भदौ महिनादेखि प्रभात माविमा शिक्षकको रुपमा काम गर्दै आउनुभएको थियो । हेटौँडा स्कूल अफ म्यानेजमेन्टबाट शिक्षाशास्त्र संकायमा प्रमुख विषय अंग्रेजी लिई स्नातक उत्तीर्ण गर्नुभएका रिजालले स्नात्तकोत्तर तह हेटौँडा क्याम्पसबाट पूरा गर्नुभएको छ ।

नवनियुक्त प्रधानाध्यापक रिजालले विद्यालयको शैक्षिक सुधारका लागि आफूले योजना बनाएर काम गर्ने बताउनुभएको छ । आगामी शैक्षिकसत्रदेखि अंग्रेजी माध्यममा पनि पठनपाठन गराउने योजना रहेको जानकारी दिनुहुँदै नवनियुक्त प्रधानाध्यापक रिजालले निमावि तहमा विषयगत शिक्षकको अभाव रहेको उल्लेख गर्नुभएको छ । आन्तरिक आम्दानीका स्रोत नहुनु विद्यालयको प्रमुख समस्या रहेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षदेखि वडा कार्यालयले एकजना शिक्षकका लागि न्यूनतम स्रोत उपलब्ध गराएको छ । सरोकारवालासँग समन्वय र छलफल गरी उपयुक्त योजना बनाएर अगाडि बढ्ने प्रधानाध्यापक रिजालको भनाइ छ ।