हेटौंडाः आज सोमबारबाट नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । अंग्रेजी वर्षसमेत भनिने ईस्वी सम्वत् (सन्) २०२४ को आज पहिलो दिनलाई विश्वभर नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि सन् २०२३ लाई विदाई गर्दै नयाँ वर्ष २०२४ को सुरुवात भएको छ । नयाँ वर्षको स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी खुशीयाली मनाइँदैछ ।

जिसस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) को सुरुवात भएको भनाइ छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । पर्यटकको भीडभाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ नाम दिएर विविध कार्यक्रम हुने गरेको छ । हेटौंडामा पनि नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव आयोजना गरिएको थियो ।

यो अन्तर्राष्ट्रिय सम्वत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् । नयाँ वर्ष २०२४ को अवसरमा नेपालसहित विश्वभरका मानिसले एकआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।