ग्रेगोरियन पात्रोअनुसार आज (सोमबार)देखि सन् २०२४ सुरुवात भएको छ । पुरानो वर्ष सन् २०२३ लाई विदाई गर्दै नयाँ वर्ष सन् २०२४ को स्वागतमा नेपालसहित विश्वभर विविध कार्यक्रम भइरहेका छन् । विश्वका धेरै देशमा ईस्वी सम्वत्को प्रचलन रहेको छ । नेपाललगायत कतिपय देशका आ–आफ्नै सम्वत् रहेको भए पनि ईस्वी सम्वत् (सन्) लाई पनि सँगसँगै प्रयोगमा ल्याउने गरिएको पाइन्छ । त्यसैले यसलाई अन्तर्राष्ट्रिय सम्वत् मानिन्छ । बोलीचालीको भाषामा ईस्वी सम्वत्लाई अंग्रेजी वर्ष भन्ने गरिएको छ । पर्यटन व्यवसायी, विदेशी नियोग र अन्तर्राष्ट्रिय संघसंस्थाले आफ्ना सबै गतिविधि यही सम्वत्अनुसार निर्धारण गरेका हुन्छन् । विदेशी पर्यटकको चहलपहल बढी हुने क्षेत्रमा सन् २०२४ को स्वागतमा विविध कार्यक्रम गरेर ‘न्यू इयर इभ’ मनाउने गरिएको छ । अन्य क्षेत्रमा पनि अंग्रेजी नयाँ वर्षको सन्दर्भमा विविध कार्यक्रम गर्ने तथा नयाँ वर्षमा शुभकामना आदानप्रदान गरेर मनाउने गरिन्छ ।
नयाँ वर्षलाई एउटा विशेष उत्सव र पर्वको रुपमा विश्वभर मनाउने गरिनछ । ईस्वी सम्वत्को नयाँ वर्ष २०२४ विश्वभरका मानिसहरुले मनाइरहेका छन् । नेपालमा सरकारी सम्वत्को रुपमा बिक्रम सम्वत्को प्रचलन छ । हाम्रा चाडपर्व, राष्ट्रिय दिवस तथा सरकारी कामकाज बिक्रम सम्वत्को आधारमा सम्पन्न गरिन्छ । तर, नेपालमा पनि ईस्वी सम्वत्को प्रचलन उत्तिकै हुने गरेको पाइन्छ । यही भएर नागरिकस्तरबाट पनि अंग्रेजी नयाँ वर्षको सुरुवातको दिनमा विविध कार्यक्रम गर्ने र खुशीयाली मनाउने गरिन्छ । प्रचलनमा आएका जुनसुकै सम्वत् भए पनि त्यसको आफ्नै महत्व हुन्छ । नयाँ वर्ष सुरुवातसँगै हरेक मानिसको जीवनमा एउटा नयाँ अध्यायको सुरुवात हुने गर्दछ । ईस्वी सम्वत्को नयाँ वर्ष २०२४ को सुरुवातले पनि आम नागरिकका नयाँ योजना बन्ने गर्दछन् । बितेको वर्ष २०२३ को समीक्षा गर्दै त्यस वर्षका उपलब्धीको रक्षा गर्नुका साथै नयाँ वर्ष २०२४ को सुरुवातसँगै नयाँ अपेक्षा र योजना बनाउनु पर्दछ ।
कोभिड–१९ को महामारीपछि शिथिल र संकटग्रस्त बनेको मुलुकको अर्थतन्त्रमा पछिल्लो समय केही सुधार आइरहेको छ । देशमा रहेका उद्योगी, व्यवसायी आर्थिक मन्दीको मारमा परिरहेको अवस्था भए पनि सरकारले अर्थतन्त्रमा सुधार हुँदै गएको दावी गरिरहेको छ । सन् २०२३ मा धेरै नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । अध्ययनको नाममा विदेशिनेको संख्या पनि यो वर्ष उल्लेख्य रहेको छ । विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स बढेका कारण विदेशी मुद्राको सञ्चिति बढेका र भुक्तानी सन्तुलनमा टेवा पुगेका कारण सरकारले केही राहत महसुस गरेको छ । सन् २०२३ मा विदेशी पर्यटकको आगमन बढेकाले पर्यटन क्षेत्रमा सुधार देखिएको छ । तर, आम नेपालीलाई वर्ष २०२३ ले उल्लेख्य सन्तुष्टिको कुनै अनुभूति गराउन भने सकेन । संघ र प्रदेशमा नयाँ सरकार गठन भए पनि सरकारले प्रभावकारी काम गर्न नसक्दा आम नेपालीको मुहारमा खुशी देखिएको छैन ।
मानिसको जीवनमा हरेक दिन उत्तिकै महत्वपूर्ण हुन्छ । बिहानीको सूर्योदयसँगै हरेक दिन नयाँ बनेर आउँछन् र जान्छन् । हरेक दिनका क्रियाकलापलाई सूक्ष्मरुपमा समीक्षा गरेर महत्व पहिचान गर्न कठिनाई हुने भएकाले एक वर्षको अवधिको समीक्षा र मूल्यांकनबाट उपलब्धी मापन गर्ने गरिन्छ । आम नेपाली नागरिकका लागि बितेको वर्ष सन् २०२३ खासै उपलब्धीमूलक बन्न सकेन । सन् २०२३ मा नेपालको राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा सम्झनालायक कुनै घटना वा उपलब्धी हासिल भएका छैनन् । यसले बितेको वर्ष सामान्य औपचारिकतामा नै बितेको मान्नुपर्ने हुन्छ । आजबाट सुरु भएको सन् २०२४ भने आम नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने एउटा महत्वपूर्ण वर्ष बन्न सकोस् । सन् २०२४ नेपालीहरुका लागि पनि उल्लेख्य बनोस् । यस वर्ष सबै नेपालीहरुको मुहारमा खुशी छाओस् । नयाँ वर्ष २०२४ को सबैमा हार्दिक मंगलमय शुभकामना । ह्याप्पी न्यू इयर ।