हेटौंडाः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले मुलुकमा अहिले युवालाई आशा र भरोसा जगाउन नसकेको बताउनुभएको छ । आइतबार बीपी समाज मकवानपुरले ४८ औं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको ‘युवा जनशक्तिको सुनिश्चित भविष्यको लागि राजनैतिक दलहरुको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

नेता भण्डारीले अहिलेको राजनीतिले देशका युवा र जनतालाई इमोसन बनाउन नसकेकोे बताउनुभयो । अहिले नेता नेता बन्न नसक्दा र समयअनुसार अपडेट हुन नसक्दा मुलुकमा केही हुन नसकेको उहाँले बताउनुभयो । युवाहरुसँग मिलेर नै मुलक बनाउन सकिने उहाँको भनाइ छ ।

मुलुकमा पश्चिमी देशहरुले बनाएको नीतिलाई नै कपीपेष्ट गर्दा युवाहरुले केही गर्ने नीति बन्न नसकेको र युवा स्वदेशमा बस्न नचाहेको उहाँले बताउनुभयो । युवालाई स्वदेशमै भविष्य देख्ने वातावरण सिर्जना गर्न रोजगारीको अवस्थालाई विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो ।

देशमा अहिले कमिसनको लागि विदेशी ऋण लिने तर व्याज तिर्न नसकिरहेको उहाँले बताउनुभयो । देशमा अबको दुई महिनामा दुई खर्ब ऋण थपिने बताउनुहँदै उहाँले अब मुलुकले सामाजिक सुरक्षा भत्ता दिन पनि नसक्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो ।

गोष्ठीलाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले ठूलो राजनीतिक परिवर्तनपछि पनि अझै जनता र युवाहरुको चाहना पूरा हुन नसकिरहेको बताउनुभयो । युवा र जनताका लागि मुलुकमा अहिले काम गर्ने वातावरण सिर्जना नभएको उहाँले बताउनुभयो । सरकार र सबै राजनीतिक दलहरु राष्ट्रिय अर्थतन्त्रको विकासमा लागेर युवाहरुका लागि काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । युवाहरुलाई विश्वास बढाउन नेताहरुले समाजका हरेक क्षेत्रमा समर्पणका साथ काम गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले मुलुकमा युवाहरूलाई आकर्षित गर्ने खालको नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । देशमा अहिले रहेको सम्पूर्ण समस्याहरुको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्ने र यसको आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले युवाहरुलाई उत्पादनसँग जोडिने खालको नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले अहिले जनतामा निराशा छाइरहेको बताउनुभएको छ । मुलुकको राजनीतिक अवस्थाका कारण जनतामा यस्तो भइरहेको उहाँले बताउनुभयो । मुलुकको समस्या समाधान गर्न राजनीतिक दलहरु जिम्मेवार बनेर देश बनाउनुपर्ने उहाँले बताउनुभयो ।

वीपी समाजका केन्द्रीय सदस्य लोकेश ढकालले भ्रष्ट नेतृत्वले देश आज भूमरीमा फसिरहेको बताउनुभयो । अहिले सबै दलहरु सत्तावादी भएका कारण मुलुकमा निराशामात्रै छाइरहेको उहाँले बताउनुभयो । अहिले युवाहरु रोजगारी र शिक्षाका लागि बाहिरिने क्रम बढिरहँदा यसप्रति दलहरुको ध्यान नपुगेको उहाँले बताउनुभयो । अहिले सत्ता पक्ष र प्रतिपक्षी दुबैले काम गर्न नसक्दा वर्तमान राजनीतिले युवामा निराशा बढाएको उहाँले बताउनुभयो ।

वीपी समाज मकवानपुरका सभापति विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको गोष्ठीमा पार्टी जिल्ला कमिटीका पदाधिकारीलगायतको आतिथ्य रहेको थियो ।