मानवसेवा आश्रमको अवलोकनपछि सामूहिक तस्वीर खिचाउँदै मुख्यमन्त्रीहरु ।

हेटौँडाः देशका सातै प्रदेशका मुख्यमन्त्रीहरु मानवसेवा आश्रमको हेटौँडास्थित मुख्यालयमा पुग्नुभएको छ । मुख्यमन्त्रीहरुको समन्वय बैठकमा सहभागी हुन बिहिबार साँझ हेटौँडा आइपुग्नुभएका मुख्यमन्त्रीहरु आश्रमका अभियन्ताको निमन्त्रणामा शुक्रबार बिहान साढे ९ बजेको समयमा हेटौँडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रमको मुख्यालय पुग्नुभएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एकसाथ आश्रमको अवलोकन गर्नुभएको हो ।

मानवसेवा आश्रमका अभियन्ता हुमनाथ पौडेलका अनुसार सातै प्रदेशका मुख्यमन्त्रीहरुले मानवसेवा आश्रमको मुख्यालयको अवलोकन गरी प्रभावित हुनुभएको छ । सातै मुख्यमन्त्रीले मानवसेवा आश्रमको अभियानमा साथ, सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको आश्रमका अभियन्ता पौडेलले बताउनुभएको छ । मुख्यमन्त्रीहरुले करिब ३० मिनेटको समयमा आश्रमको अवलोकन गरी फर्कनुभएको थियो ।

२०६९ सालमा हेटौंडाबाट सुरु गरिएको मानवसेवा आश्रमले मानवसेवाको अभियानमार्फत २०८१ सालभित्र देशका सातै प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ । हालसम्म कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरिसकेको छ । मानवसेवा आश्रमले सात प्रदेशका १९ जिल्लामा २४ वटा आश्रम सञ्चालन गरिरहेको छ । २४ वटा आश्रममा एक हजार सात सय आश्रित छन् । मानवसेवा आश्रम सञ्चालनमा आएको एक दशकभन्दा बढी अवधिमा नौं हजार पाँच सय भन्दा बढीको उद्दार गरिसकेको छ भने चार हजार भन्दा बढीलाई परिवारमा पुनर्मिलन गरिसकेको छ ।