हेटौंडाः चितवनमा एकै दिन ३ जनाको मृत्यु भएको छ । बिहीबार छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना र नारायणी पुलबाट हाम फल्दा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–६ सितारामचोकमा मोटरसाइकल अनियन्त्रित भई कारसँग ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा १७ वर्षीय चिराज पोख्रेल रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो १ बजेर ५० मिनेटको समयमा चोक बजारबाट विकासचोक जाँदै गरेको ना २१ प ३३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोकी राखेको बा १९ च १६९० नम्बरको कारमा ठोकिँदा पोख्रेल गम्भिर घाईते भएका थिए । घाइते पोख्रेललाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो २ बेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, भरतपुर महानगरपालिका–१२, मिलनचोकमा ईलेक्ट्रिक भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१, सिमपानी घर भई भरतपुर महानगरपालिका–११ घोलबजार बस्ने ६१ वर्षीय गणेश थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार राती ११ बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३–००१ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानले ठक्कर दिँदा मगर गम्भीर घाईते भएका थिए । घाइते मगरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा बिहिबार राती ११ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, भरतपुर महानगरपालिका–३ मा नारायणी पुलबाट हाम फाल्दा एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजेको समयमा अन्दाजी ५५ वर्षीय पुरुष पुलबाट हाम फालेका थिए । नारायणी पुलबाट हाम फालेको पुरुषलाई तत्काल उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा दिउँसो ४ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।