पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्की ।

हेटौँडाः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारसँग समन्वय र संघर्ष गर्दै अगाडि बढ्ने बताउनुभएको छ । सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला सुरु हुनुअघि शुक्रबार बिहान हेटौँडामा मुख्यमन्त्री कार्कीले प्रदेशका अधिकार प्राप्तीका लागि समन्वय र संघर्ष गरेर अगाडि बढ्ने बताउनुभएको हो ।

आफू नेतृत्वको प्रदेश सरकारले प्रभावकारी विकासकै लागि प्रतिस्थापन विधेयकमार्फत बजेटमा २५ लाख रुपैयाँ भन्दा कम रकमका योजना कटौति गरेको जानकारी दिनुभयो । उहाँले संघीयताको कार्यान्वयन र विकेन्द्रीकरणका कारण काठमाठौं सुनसान बन्दै गएको र हेटौँडामा चहलपहल बढेको दावी गर्नुभयो । तल्लो तहमा आर्थिक गतिविधि बढ्दै गएको पनि उहाँको दावी थियो । संघीय संसदमा प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्ने सांसदहरुको पनि रिपोर्ट कार्ड खोजी गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताउनुभएको छ ।