हेटौंडाः हेटौंडा–१, नकौलीस्थित कालिका आधारभूत विद्यालयमा बालमैत्री स्थानीय शासन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिहिबार हेटौंडा उपमहानगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासनसम्बन्धी सचेतनामुलक कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालविकास महाशाखाकी निर्देशक विष्णु कुमारी लामिछानेले बालविवाह, बालश्रम, बाल कुलत र बाल हिंसा न्यूनीकरणसम्बन्धी जानकारी गराउनुभएको थियो । लामिछानेका अनुसार बालबालिकालाई विद्यालयको पठनपाठनमा सक्रियता बढाउन सके बालविवाह, बालश्रम, बाल कुलत नियन्त्रणमा टेवा पुग्ने छ । त्यस्तै समग्र वडालाई बालमैत्री बनाउन सबै टोल विकास संस्था, विद्यालय, आमा समूह, बाल समूह सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयलाई मावि तहसम्म पठनपाठन हुने व्यवस्था गर्न सके बालश्रम, बालविवाह, बाल कुलत, बाल हिंसा न्यूनीकरणमा सहयोग हुने सहभागीको भनाइ थियो । कार्यक्रम कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीको सभाध्यक्षता तथा वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्ति मनु दाहालको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, टोल विकास संस्थाका पदाधिकारी, आमा समूह, महिला तथा बालविकास महाशाखाका कर्मचारी निर्मला दाहाल, बालमैत्री सहजकर्ता कृष्टिना मैनाली लगायत टोलका अभिभावक तथा विद्यार्थीको उपस्तिथि रहेको थियो ।