दौड प्रतियोगितामा निर्धारित दूरी पार गर्दै एक धावक ।

हेटौँडाः हेटौँडामा बिहिबारबाट सुरु भएको खेलकुद महोत्सव अन्तर्गत पहिलो दिन भएको दौड प्रतियोगितामा पुरुषतर्फ सोहन राई र महिलातर्फ रेश्मा थापा विजयी भएका छन् । अन्य ३४ खेलाडीलाई पछि पार्दै पुरुषतर्फ राई प्रथम भएका हुन् । दौडमा सन्तोष गौतम द्वितीय र नवराज कार्की तृतीय भए ।

यस्तै महिलातर्फ २६ खेलाडीलाई पछि पार्दै रेश्मा थापा प्रथम भएकी हुन् । सजिना स्याङ्तान द्वितीय र सरिता हुमागाईं तृतीय भइन् । महिला र पुरुष दुवैतर्फको प्रथम, द्वितीय र तृतीय भएका खेलाडीले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

शुक्रबार जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेछ । शनिबार जिल्लास्तरीय तेक्वान्दो, आइतबारबाट अन्तरजिल्ला महिला फुटबल, सोमबार राष्ट्रिय तेक्वान्दो, मंगलबार क्युकोसिन र आइटिएफ, पुस ११ र १२ गते राष्ट्रिय उसु, पुस १२, १३ र १४ गते पिप्ले क्याम्पा रंगशालामा हक्की, १३, १४, १५ र १६ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिता, १३ गते महिला र पुरुषको रेस्लिङ तथा १७ गते कबड्डी प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता खेलाडीहरुले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।