सडक खाना महोत्सवको विषयमा जानकारी गराउनुहुँदै एसोसिएसनका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जन ।

हेटौँडाः मकवानपुर होटल एसोसिएसनको आयोजनामा तीन दिन सडक खाना महोत्सव हुने भएको छ । यही पुस १३, १४ र १५ गते हेटौँडा–४, हुप्रचौरमा सडक खाना महोत्सव आयोजना गर्न लागिएको एसोसिएसनले बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । इस्वी सम्वत्को नयाँ वर्षको अवसर पारेर एसोसिएसनले आयोजना गर्ने सडक खाना महोत्सवले स्थानीय परिकार, कलाकार र आन्तरिक पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरेको छ ।

एसोसिएसनका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले महोत्सवमा सहभागी व्यवसायीले आफ्नो सेवा प्रवद्र्धनको अवसर पनि पाउने बताउनुभएको छ । ४० वटा स्टलहरु रहने महोत्सव आयोजनाका लागि हेटौँडा उपमहानगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको उहाँले जानकारी दिनुभयो । २०६५ सालदेखि आयोजना गरिँदै आएको महोत्सव २०७६ सालयता हुन सकेको थिएन ।

सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारासहित सडक खाना महोत्सवको आयोजनामा ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको एसोसिएसनले जनाएको छ । महोत्सवमा ३० हजार भन्दा बढी सर्वसाधारणको सहभागिता रहने अनुमान गरिएको छ ।