बर्थिङ सेन्टर उद्घाटन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौंडाः हेटौँडा उपमहानगरको दुर्गम क्षेत्र हेटौँडा–१९, ज्यामिरेमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । आदिवासी जनजाती बाहुल्य ज्यामिरेमा महिलाको प्रजनन् स्वास्थ्यलाई ध्यान दिँदै शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । नगरप्रमुख मीनाकुमारी लामाले मंगलबार बर्थिङ सेन्टरको उद्घाटन गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा बर्थिङ सेन्टर तयार पारिएको हो ।

नगरप्रमुख लामाले महिलामा पाठेघर र स्तन सम्बन्धी समस्यालाई लुकाउने बानी तत्कालै सुधार्न आग्रह गर्नुभएको छ । घरपरिवार, छिमेकको डरले आफ्नो शारीरिक समस्या लुकाउने गरिएको र यसो नगर्न नगरप्रमुख लामाले आग्रह गर्नुभएको छ । वडा अध्यक्ष नरनाथ सुवेदीले गर्भवती महिलालाई बर्थिङ सेन्टरमा आएर प्रसुती सेवा लिन आग्रह गर्नुभयो । प्रसुती सेवा लिनका लागि बजारसम्म जानुपर्ने बाध्यता हटाउन बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको वडा अध्यक्ष सुवेदीको भनाइ थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

बर्थिङ सेन्टर स्थापनासँगै नियमितरुपमा गर्भपरीक्षण, सुत्केरी जाँच र प्रसुती सेवा सञ्चालन हुने शहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश बर्तौलाले जानकारी दिनुभयो । १० बर्षदेखि स्वास्थ्य केन्द्र सञ्चालन भएपनि भौगोलिक समस्या र आर्थिक अवस्था कमजोर रहेका कारण स्थानीय उपचारका लागि स्वास्थ्य केन्द्रमा कमै आउने गरेको बर्तौलाले जानकारी दिनुभयो । ज्यामिरेका स्थानीय हेटौँडा बजारसम्म आइपुग्न जोखिमपूर्ण बाटोमा २ घण्टाको यात्रा तय गर्न बाध्य थिए ।

शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका स्थानीय ।

बर्थिङ सेन्टर उद्घाटनको अवसरमा शहरी स्वास्थ्य केन्द्रको संयोजन तथा १९ नम्बर वडा कार्यालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । विशेषज्ञ डाक्टरको उपस्थितिमा भएको शिविरमा दुइ सय २८ जनाले सेवा लिएको शहरी स्वास्थ्य केन्द्रले जनाएको छ । महिलाहरु लक्षित पाठेघर, स्तन क्यान्सर तथा प्रजनन् स्वास्थ्य शिविरमा १६ जनाले नयाँ इम्प्लान्ट जडान गरेका छन् भने ७ जनाले पुरानो झिकर नयाँ इम्प्लान्ट राखेका छन् । शिविरमा ११८ जना महिलाहरुले पाठेघरको जाँच गराएका थिए ।