सम्झौतापत्र आदानप्रदान गर्नुहुँदै बोर्डका अध्यक्ष बिष्ट र सिइओ उपाध्याय । बीचमा नगरप्रमुख लामा ।

हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका ग्राहकले पानीको महसुल अनलाइनमार्फत नै भुक्तानी गर्न पाउने भएको छ । बुधबार बोर्ड र एनएमबी बैंकबीच अनलाइनमार्फत महसुल भुक्तानी गर्ने प्रणाली कार्यान्वयन गर्ने सहमति भएको छ । बोर्डका अध्यक्ष प्रताप बिष्ट र बंैकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

बोेर्डका अध्यक्ष बिष्टले अहिले बोर्डमा २७ हजार ग्राहक रहेकोमा ३० प्रतिशतले अनलाइनमार्फत महशुल तिर्न थालेको बताउनुभयो । ६ महिनाअघि दैनिक खानेपानी बोर्डमा महशुल तिर्नका लागि २ सयभन्दा बढी उपभोक्ता बोर्डको कार्यालयमै लाइनमा बस्ने गरेकोमा अहिले अहिले आधाभन्दा धेरै घटेको उहाँको भनाई छ ।

यस्तै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले पानीको महसुल अनलाईनमार्फत भुक्तानी गर्न मिल्ने भएपछि नागरिकलाई सहज हुने बताउनुभयो । केही दिनअघि मात्रै आफु अफ्रिकी मुलुक रुवान्डामा विश्व पानी संगठनको आयोजनामा भएको कार्यक्रममा सहभागी हुँदाको अनुभवन सुनाउनुहुँदै उहाँले नेपाल खानेपानीका लागि धनी रहेको बताउनुभयो । उक्त देशहरुमा पानी अभावकै कारण युद्ध हुने गरेको तर यहाँ यस्तो नरहेको बताउनुभयो ।

सरकारले भएको पानीलाई संरक्षण मात्रै गर्न सकेमा खानेपानीका लागि समस्या नहुने उहाँको भनाई छ । सरकारले जनतालाई स्वच्छ पानी दिन सक्नुपर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन र एनएमबी बैंक हेटौंडाका शाखा प्रमुख उज्वल रिजाल लगायतको आतिथ्य रहेको थियो ।