हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने गरी प्रदेश सरकार अघि बढेको प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जानकारी दिनुभयो ।
मन्त्री लम्सालका अनुसार प्रदेश उच्च शिक्षा परिषद्को निर्णयका आधरमा प्रदेश उच्च शिक्षा नियमावली २०७९ को नियम १० (२) बमोजिम सो कार्यका लागि हेटौंडामा नै सार्वजनिक विश्वविद्यालय स्थापनाका लागि कार्यदल गठन गर्ने निर्णय भएको बताउनुभयो । उक्त निर्णय अनुसार कार्यदलमा सदस्यहरु छनौट भई विश्वविद्यालयका लागि आवश्यक क्षेत्र पहिचान गरी ऐनको मापदण्डअनुसार अध्ययन गरी प्रतिवेदन तयार पारिने उहाँको भनाइ छ । सो प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेश गरी स्वीकृत भएपश्चात् विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने मन्त्री लम्सालले बताउनुभयो ।
यसअघि बागमती प्रदेशमा प्रदेश विश्वविद्यालय स्थापना गर्न प्रदेश सरकारलाई प्रदेश उच्च शिक्षा परिषद् समितिले प्रस्ताव गरेको थियो । परिषद्को प्रस्तावपछि मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा विभिन्न पक्षसँग छलफल भइसकेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी मकवानपुर बहुमुखी क्याम्पसले स्नातक तहमा विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्रमा पठनपाठन गरिरहेको छ भने स्नात्तकोत्तर तहमा वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायमा पठनपाठन गरिरहेको छ ।
मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारले २ मन्त्रालयको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेको छ । बैठकले २ मन्त्रालयको (ओएनएम) कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको हो । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको हो । यस्तै, बैठकले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाअन्तर्गत् रहेका विभिन्न प्रहरी इकाइ भवन निर्माणका लागि २६ करोड ५५ लाख २९ हजार रुपैयाँ भुक्तानी गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । यसअघिको मन्त्रिपरिषद् बैठकले निर्णय गरी १० औं तहबाट ११ औं तहमा बढुवा गरिएका कर्मचारीहरुको पदस्थापन आन्तरिक छलफलबाट संशोधन गर्ने निर्णय भएको मन्त्री लम्सालले बताउनुभयो ।