हेटौँडाः नेपाल जेसीजको वर्ष २०२४ का लागि महासचिवमा मकवानपुरका सरोज अधिकारी मनोनित हुनुभएको छ । हालै बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट वर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष रविन पोखरेलले मकवानपुरका अधिकारीलाई महासचिवमा मनोनित गर्नुभएको हो । जेसीजमा अध्यक्षको सहयात्रीको रुपमा महासचिवलाई लिइन्छ ।
वर्ष २०२३ का उपाध्यक्ष समेत रहनुभएका अधिकारी मकवानपुरको बसामाडी जेसीजको वर्ष २०१९ का अध्यक्ष समेत हुनुहुन्छ । बसामाडी जेसीजबाट प्रतिनिधित्व गर्दै नेपाल जेसीजको महासचिव पदमा हासिल गर्ने अधिकारी पहिलो व्यक्ति हुनुहुन्छ । यसअघि बसामाडी जेसीजबाट शोभा श्रेष्ठ र हरि शर्मा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । नेपाल जेसीजको अध्यक्ष निर्वाचित रविन पोखरेल भने नुवाकोट जेसीज वर्ष २०१६ को अध्यक्ष तथा वर्ष २०१८ मा नेपाल जेसीजको उपाध्यक्ष हुनुहुन्थ्यो । पोखरेल वर्ष २०१९ मा कार्यकारिणी उपाध्यक्ष हुनुहुन्थ्यो । एक हजार तीन सय चार मत मध्ये पाँच सय १० मतसहित नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित हुँदै गर्दा उहाँका निकतम प्रतिद्वन्द्वी भक्तपुरकी रजनी थापाले चार सय २६ मत प्राप्त गर्नुभयो । जेसीजको कार्यकाल एक वर्षको मात्रै हुने व्यवस्था छ ।