वि.सं २०८२ सालसम्म मुलुकलाई सडक मानवमुक्त बनाउने अभियान अघि बढाइरहेको मानवसेवा आश्रमको केन्द्रीय कार्यालय भवन उद्घाटन भएको छ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार हेटौंडामा रहेको आश्रमको केन्द्रीय कार्यालय भवन उद्घाटन गरेका हुन् । मानवसेवा आश्रमको अभिभावकत्व सरकारले ग्रहण गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले आश्रमको कामलाई प्रभावकारी बनाउन तथा विस्तार गर्न सातवटै प्रदेशमा भवन निर्माण गर्न सहयोग गर्ने बताएका छन् । सडक मानवको उद्दारका लागि ७ वटा सवारी साधन उपलब्ध गराउन पहल गर्ने आश्वासन पनि प्रधानमन्त्रीले दिएका छन् । आश्रममा आश्रित नागरिकलाई प्रतिव्यक्ति प्रतिमहिना १० हजार रुपियाँका दरले राज्यले नगद उपलब्ध गराउनका लागि व्यवस्थापनको जिम्मेवारी लिने प्रधानमन्त्री प्रचण्डले बताएका हुन् । नेपालको संविधानले नेपाली जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारीको हक प्रदान गरे पनि सरकारले त्यसको प्रत्याभूत गर्न नसकेको अवस्थामा मानवसेवा आश्रमले ठूलो काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

मकवानपुरको हेटौंडामा २०६९ सालमा स्थापना भएको मानवसेवा आश्रमले देशभर सहयोगापेक्षी सडकमानवको उद्दार गर्दै पालनपोषण तथा पुनर्मिलन गर्दै आएको छ । सडकमानव उद्दार गरी पालनपोषण गर्ने तथा पारिवारिकरुपमा पुनर्मिलन गराउने उद्देश्यले क्रियाशील मानवसेवा आश्रमको हेटौंडामा मुख्यालय निर्माण गरिएको छ । आश्रमले देशका विभिन्न जिल्लामा आश्रम स्थापना गरेर सहयोगापेक्षी सडक मानवमुक्त अभियानलाई तिब्रता दिइरहेको छ । शहर बजारका सडकहरुमा कष्टकर जीवनयापन गरिरहेका सहयोगापेक्षीहरुलाई आफ्नो आश्रममा आश्रय दिएर अभियानलाई साकार बनाउन मानवसेवा आश्रमले देशभर २४ वटा सेवाकेन्द्रबाट सेवा दिँदै आएको छ । बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा र मधेश प्रदेशमा ३ वटाका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक वटा मानवसेवा आश्रम रहेको छ । ती आश्रमहरु विभिन्न १९ वटा जिल्लामा खोलिएका छन् । देशका विभिन्न जिल्ला तथा प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणालाई मानवसेवा आश्रमले निरन्तरता दिँदै आएको छ । आश्रमले करिब ५ वर्षअघि २०७५ फागुन ४ गते मकवानपुर जिल्लालाई देशकै पहिलो सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरेर अभियान सुरु गरेको थियो ।

मानवसेवा आश्रमले १ हजार ५ सय ८१ जना उद्दार गरेकोमा ८ सय ३६ जनाको पारिवारिक पुनर्मिलन गराएको छ । १ सय ८४ जनाले आश्रममै शरीर शान्त पारेका छन् भने ४ सय २० जनाले स्वेच्छाले आश्रम छाडेका छन् । ५१ जनाको सामुदायिक पुनर्मिलन गरेको र ३४ जनाको पुनः उद्दार गरेको छ । केही समयअघि मानवसेवा आश्रम हेटौंडाले मेची–महाकाली अभियान सञ्चालन गरी ३०२ जना सडकमानवको उद्दार गरेको थियो । मानवसेवा आश्रम हेटौंडामा २१ जना बालबालिका, ७६ जना महिला र १०७ जना पुरुष गरी २०४ जना आश्रित छन् । आश्रमको हेटौंडास्थित केन्द्रीय कार्यालय भवन करिब १४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको छ । आश्रमको भवन अपाङ्गमैत्री रहेको छ ।

मानवसेवा आश्रमले आफ्ना गतिविधिलाई मानवता प्रवद्र्धन महाअभियानका रुपमा अघि बढाइरहेको छ । कुनै पनि मानिस सडकमा कष्टकर जीवनयापन गर्ने अवस्थामा आइपुग्नु भनेको मानवताको विपरित हुन्छ । हरेक मानवले सुरक्षितरुपमा जीवनयापन गर्नपाउने जन्मसिद्ध अधिकार भए पनि गाउँबस्ती तथा शहरमा सहयोगापेक्षी मानव भेटिनु दुःखद् अवस्था हो । विविध कारणले सडकमा आइपुगेका मानिसको उचित व्यवस्थापन गर्न मानवसेवा आश्रम र यसले सञ्चालन गरेको अभियान सार्थक बनिरहेको छ । आश्रमको अभियानलाई प्रभावकारी बनाउँदै सहयोगापेक्षी सडक मानवमुक्त देश बनाउन तीनै तहको सरकारको विशेष चासो र लगानी आवश्यक छ । विगतमा जस्तै विभिन्न सहयोगी संघसंस्था तथा व्यक्तिहरुले पनि आश्रमको अभियानलाई सहयोग गरेमा मानवसेवामा टेवा पुग्ने निश्चित छ ।