हेटौंडाः दोलखा जिल्लामा एक बालक र सिन्धुली जिल्लामा एक युवा मृत फेला परेका छन् । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–१, देउराली मैदानमा बालक मृत अवस्थामा फेला परेको छ । मृत फेला पर्नेमा ११ वर्षीय अविरल उप्रेती रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
उप्रेती मंसिर २७ गते बिहान ११ बजेदेखि हराइरहेका थिए । बेपता भएका उप्रेतीको खोजी गर्नेक्रममा आइतबार दिउँसो ३ बजेको समयमा देउराली मैदानमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव आफ्न्तले बुझी लगेको प्रहरीले जनाएको छ ।
यस्तै सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ झुँगामा एकजना युवा मृत फेला परेका छन् । मृतक ३५ वर्षीय सुशील धामी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । धामी आइतबार बिहान १० बजेको समयमा डकाहा मेलाबाट फर्की सुतेकोमा दिउँसो ४ बजेको समयमा सुतेको ठाउँमा मृत अवस्थामा मृत फेला परेको थिए ।
धामीले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको प्रहरीले जानकारी दिएको छ ।