सिकाईको उत्तेजना र प्रतिक्रिया प्राप्त गर्ने विश्वसनीय तरिका सिकाई शैली हो । यो एउटा यस्तो शैक्षिक अवस्था हो जसमा रहेर विद्यार्थीले सबैभन्दा आनन्दले सिक्छन् । व्यक्तिले सिकाइका लागि प्रयोग गर्ने विधिलाई सिकाई शैली भनिन्छ । यो ज्ञान प्राप्तिको अभ्यस्तर भिन्न सिकारुको रुचिको ढाँचा हो । यो प्रतिस्पर्धा र प्रतियोगीको सिद्धान्तको विस्तारको शृङ्खला हो जसको उद्देश्य व्यक्तिको सिकाइका लागि भिन्नता जिम्मेवार हुन्छ भन्ने हुन्छ । प्रत्येक बालबालिकाहरुको सिकाइशैली फरक–फरक हुनसक्छ । बालक स्वयम् तथा शिक्षकले उनीहरुको सिकाइशैलीको पहिचान र वर्गीकरण गरुन् र सोही अनुसारको शिक्षणशैलीको प्रयोग सिकाइमा होस् भन्ने उद्देश्यले यो लेख तयार गरिएको छ ।
लेखक बुद्धिसागरले लेखाइको सीपका लागि लेख्दै मेट्दै, पुनः लेख्दै, पुनः सम्पादन गर्दै सिकिन्छ भनेका छन् भने मुराकामीले हिँड्दै जाँदा सिर्जना फुर्छ भनेका छन् । त्यस्तै पाउलो कोएलोले परिस्थितिले सिर्जना फुराउँछ भनेका छन् । यसबाट सिक्ने शैली आ–आफ्नो हुन्छ भन्न सकिन्छ ।
बेन्जामिन फ्राङ्क्लिन बालकको सिक्ने शैली र प्रभावको बारेमा यसो भन्छन्, “शिक्षकले भन्छ बालकले बिर्सन्छ, पढाउँछ, सम्झन्छ र जब समावेश गरिन्छ सिक्छ ।” त्यस्तै कन्फ्युसियसका अनुसार, “सुन्छ–बिर्सन्छ, हेर्छ–सम्झन्छ र गर्छ–बुझ्छ÷सिक्छ ।” इग्नासियोस्ट्राकाले जोड दिँदै भनेका छन्, “यदि बालकले शिक्षण ढाँचाबाट सिकेन भने सिकारुको सिकाइको ढाँचाबाट सिकाउनु पर्छ । “प्रत्येक सिकारुको आ–आफ्नै सिकाइ ढाँचा र संरचना हुन्छ । बालकले वातावरणको अवलोकन, बस्तुहरुको म्यानुपुलेटिङ, अनुकुलन, तर्कनिर्माण, परिकल्पना परीक्षण र निश्कर्ष निकाली नयाँ ज्ञानको निर्माण गर्दछ । भिगोत्स्किले “स्वयम् बालकको विगतका अनुभव र ज्ञानहरुको आधारमा नयाँ अनुभव निर्माण गर्दछ, उक्त अनुभव, सामाजिक अन्तरक्रिया र भाषाको साझेदारीबाट सार निकाल्दै, प्रश्न गर्दै, स्पष्ट पार्दै, अनुमान गर्दै मानवीय क्षमता विकासका चरणहरु पूरा गरि ज्ञान र सीप हासिल गर्दछ भनेका छन् ।
इरेन ग्रुबेलले भनेका छन्, “जब तिमी धेरै यान्त्रिक हुन्छौ विद्यार्थीले तिम्रो बाजा बजाउँछन् त्यसैले म जहिले पनि फरक सिकाइ नमूनाको प्रयोगको कोशिश गर्दछु जुन सुनेर, देखेर, गरेरजस्ता जीवन सिकाउने शैली हुन सक्छन् ।” यसरी उनले विद्यार्थीका सिकाइशैली अनुसार शिक्षण गर्नु भन्ने स्पष्ट सङ्केत गरेका छन् ।
सिकारुका सिकाइशैलीका प्रमुख नमूनाहरुमा एउटा डेविल्ट कोल्वको नमूना अनुभवमा आधारित छ । जसमा अनुभवबाट अवलोकन, अवलोकनबाट अवधारणा निर्माण, अवधारणा निर्माणबाट प्रयोगात्मक परीक्षण र पुनः अनुभव निर्माणबाट सिकाइ हुन्छ भनिन्छ । उनले समायोजक–प्रयोगात्मक कार्य गर्ने व्यक्ति, सम्मिलित कर्ता–प्रयोग गर्ने व्यक्ति, बिचलक–परिकल्पनात्मक क्षमता र छलफल गर्ने व्यक्ति र आगमनात्मक चेत र सिर्जना जस्ता सिकाइका चार शैलीहरु प्रस्ताव गरेका थिए ।
पिटर हनी र एलान मुम्फोर्ड नमूनाको पहिलो चरणमा व्यवस्थापकीय अनुभव, पुनरावलोकन, निश्कर्ष निकाल्ने र योजना निर्माण गर्ने हुन्छ भने दोस्रो चरणमा कर्मवादी, विचारक, सिद्धान्तकार, व्यवहारवादी जस्ता प्रकृतिका सिकाइशैली हुन्छन् भनी व्याख्या गरे । बाल्टर वुर्के कलेजर्सको नमूनामा दृश्यात्मक, श्रवणात्मक र प्रयोगात्मक पक्षको पहिचान गरी त्यसै अनुरुपको सिकाइको ढाँचा विकास गरेका छन् । निल फ्लेमिङ्को VAK/VARK नमूनाले चार सम्वेदक नमूनाहरु प्रस्तुत गरे । ती सिकाइशैलीहरु दृश्य सिकाइ, श्रवण सिकाइ, भौतिक तथा शारीरिक सिकाइ र सामाजिक सिकाइ रहेका छन् ।
ग्रासा र रिइचम्यानको सिकाइको शैलीमा सहभागी, प्रतियोगी, सहयोगी, आश्रित, अनाश्रित अलगाव जस्ता तत्वहरु पर्दछन् भने ल्ब्क्क्ए मोडेलमा सज्ञानात्मक ढाँचा–प्रत्यक्षीकरण, संगठन र अवधारणा भावनात्मक ढाँचा––प्रेरणा र व्यक्तित्व–लिङ्गीय फरकपन, स्वास्थ र पोषण, प्रतिक्रिया, प्रकाश, आवाज र तापक्रम आदि पर्दछन् ।
कक्षाकोठामा सिकाइका लागि मेरिली स्प्रेन्जरले शिक्षक पनि सिकारु हुन सक्छ र सिकारु पनि शिक्षक हुन सक्छ, उपयुक्त परिस्थिति भयो भने जो पनि सिक्न सक्छ र सिकाइ मनोरञ्जनपूर्ण हुन्छ त्यसलाई मनमोहक बनाउनु पर्छ भन्ने जस्ता तीनवटा मान्यताको आधार प्रस्तुत गरेका छन् ।
हवन्ड गार्डनर (१९८३) ले बहुवौद्धिकताको नमुनामा बालकले आठ तरिकालेः साङ्केतिक, दृश्यात्मक–क्षेत्रीय, शाब्दिक–भाषिक, तार्किक–गणितीय, शारीरिक–गतिशील, अन्तरवैयक्तिक, अन्तवैयक्तिक, प्राकृतिक जस्ता बहुवैद्धिक क्षमता विकास गर्दछ भनेका छन् ।
यी सबै नमूनाको अध्ययनको निष्कर्षमा के भन्न सकिन्छ भने कुन प्रकृतिको ढाँचाको शैलीको सिकारु हो पहिचान गरेर वर्गीकरण गर्ने र त्यसैको आधारमा उसको सिकाइशैली अनुसार सामग्री, विधि र पद्दतिको छनोट गरी प्रभावकारी शिक्षण गर्दा मात्रै अपेक्षित उपलब्धि हासिल हुने कुरामा शिक्षाविद् र शैक्षिक अनुसन्धानकर्ता एकमत देखिन्छन् । सिकारुका लागि कुनै एक, दुई वा बहुशैली उपयुक्त हुनसक्छ भने शिक्षकका लागि भने सबै शैलीको प्रयोगको ज्ञान र सीप हुनु बान्छनीय हुन्छ । सिकाइशैली तय भएको हुँदैन, त्यो त परिस्थिति, उद्देश्य शर्तमा निर्भर गर्दछ । त्यसैले प्रत्येक बालकको पेज–पेज अध्ययन गरी उसको सिकाइशैली पत्ता लगाएर त्यही अनुसारको सिकाइको वातावरण निर्माण शिक्षकले गर्नुपर्छ ।
सिकाइका विविध शैलीहरु हुन्छन् । यहाँ सिकाइका प्रमुख आठ शैलीहरुको व्याख्या गरिएको छः
१) श्रवण सिकाइशैलीः जुन सिकारुहरु सुनेर सिक्न मन पराउछन् । ध्वनि र संगीत बढी रुचाउँछन् । पढेर, लेखेर, देखेर भन्दा सुनेर बढी सिक्छन् । त्यस्ता सिकारुलाई श्रवण सिकारु भनिन्छ र त्यस्तो शैलीलाई श्रवण सिकाइशैली भनिन्छ । यस्ता सिकारुहरुले व्याख्यान, चर्चा, भाषण, टेप, रेकर्ड, आदिको माध्यमबाट ज्यादा सिक्छन् । उनिहरु ध्वनि, लय, आरोह, अवरोह, संगीत, पिच, मिटरप्रति ज्यादै संवेदनशील हुन्छन् । उनिहरु दृश्य चित्र भन्दा ध्वनि सोच्दछन् । सोचाईको तह र चरण हुन्छ । उनीहरु भाषिक पकड र मौखिक परीक्षामा अब्बल हुन्छन् । त्यति मात्र होइन व्यक्तिगत नोट, लय र ध्वनि र संगीतमा पोख्त हुन्छन् ।
अनुसन्धानका अनुसार मस्तिष्कको कन्चटको खण्डले श्रवण सिकाइलाई नियन्त्रित र निर्देशित गरेको हुन्छ । खासगरी दायाँ कन्चटको खण्ड संगीतका लागि महत्वपूर्ण हुन्छ । त्यसैले यस्ता सिकारु र शिक्षकले सिकाइका लागि विशेषगरी यस खण्डको विकास र प्रयोगको अभ्यास गर्नु गराउनु पर्छ ।
श्रवण सिकारु र शिक्षकलाई आवश्यक सुझावः
व्याख्यान, कथा, कविता, भाषण र गीत संगीतको माध्यमबाट सिकाइ सहजीकरण गर्ने ।
शब्द खेल र छन्दको उपयोग गरी भाषाको अभ्यास गर्ने ।
विषय र सूचनाहरुलाई स्वर दोहो¥याउन लगाउने ।
अक्षरलाई औँलाले देखाई कराएर पढ्ने ।
विद्यार्थीलाई मौखिक सोध्ने र भाषण गर्ने दिने ।
छलफल, बादविवाद, व्याख्या, अन्तरक्रिया भाग लिने ।
बस्तुहरुसँग सम्बन्धित शब्दहरु स्मरण गर्ने ।
टेप रेकर्डर अडियो एवम् समाचार, गीत र संगीत भरपुर सुनेर प्रेरणा सूचना र आनन्द लिने ।
२) दृश्यात्मक सिकाइशैलीः यो सबैभन्दा बढी प्रयोग हुने सिकाइशैली हो । दृश्यहरु मन पराउने, सिनहरु रुचाउने, सुनेर, लेखेर, पढेर भन्दा देखेर बढी सिक्ने सिकारु नै भिजुअल सिकारु हुन र त्यस्तो सिकाइ नै भिजुअल लर्निङ हो भने शैली चाहिँ दृश्यात्मक सिकाइशैली हो । यो सिकाइ दायाँ मस्तिष्कमा हुन्छ । पछाडिको मस्तिष्कको घुचुक्कको खण्डले दृश्य चित्रलाई व्यवस्थापन गर्दछ । यसमा तालुको खण्डको पनि भूमिका हुन्छ ।
यस्तो प्रकारको सिकारुलाई नक्सा, चित्र, ग्राफ, भिडियो, फिल्म, दृश्यात्मक पद्दतिबाट सिकाउँदा प्रभावकारी हुन्छ । बालकले ज्यामिती, अंकगणित, जीवविज्ञान, भुगोल आदिका विषयलाई एक्सेल गर्दछ । उनीहरु परिकल्पनात्मक दृश्यचित्र सम्झिने र सुनेको भन्दा देखेको कुरालाई तुरुन्त प्रशोधन गर्ने प्रकृतिको हुन्छन् । आँखामा आँखा मिलाएर कुरा गर्न रुचाउने र सूचना जानकारीहरुलाई हेरेरै सजिलै मस्तिष्कमा सञ्चय गर्दछन् ।
दृश्य सिकारु र शिक्षकलाई आवश्यक सुझावहरु ः
फोटो, चार्ट, डायग्राम, नक्सा, समय रेखा जस्ता दृश्य सामग्री देखाएर शिक्षण गर्ने ।
भिडियो, फिल्म, डकुमेन्ट्री, एनिमेटेड स्टोरी, भिजुअल स्टोरीहरु देखाएर शिक्षण गर्ने ।
भाषाका हिज्जे, शब्दार्थ, व्याकरण जस्ता कुराको शिक्षण गर्दा दृश्यात्मक रुप शब्दचित्र, वाक्यचित्र, फ्ल्यास कार्डको प्रयोग गर्ने ।
शान्त, सफा र ध्यानस्थ स्थानका लागि छनोट गर्ने ।
मस्तिष्क म्यापिङ, मस्तिष्क मन्थन र भिजुअलाइजीङका अभ्यासहरु गर्ने ।
रङ र चित्रले शब्दको प्रतिनिधित्व गराउने ।
पाठको महत्वपूर्ण विषयलाई प्रकाश पार्ने ध्यानाकर्षण गराउने ।
अध्ययन गर्दा अन्डरलाइन गर्ने ।
३) प्रयोगात्मक सिकाइः खासगरी बालबालिकाका लागि यो सिकाइशैली ज्यादै प्रयोग हुन्छ । कार्य गर्न मन पराउने, गति रुचाउने, गरेर, छोएर, घुमेर र शारीरिक क्रियाकलापबाट बढी सिक्ने सिकारुलाई किनेस्थेटिक सिकारु र त्यस्तो सिकाइलाई किनेस्थेटिक सिकाइ भनिन्छ । यस्ता सिकारुहरु हात, शरीर, स्पर्श र सम्पूर्ण शरीर मार्फत सिक्न मन पराउछन् । सानो मस्तिष्क र मोटर क्र्टेक्सले शारीरिक गतिलाई संचालन र नियन्त्रण गरिरहेको हुन्छ । यस सिकाइशैली अन्तर्गत अभ्यास गर्ने, कलाको प्रदर्शन गर्ने, हाउभाउ र कार्यबाट सिक्ने गरेर सिक्ने क्रियाकलापहरु पर्दछन् । यस्ता सिकारुले सुनेर, देखेर भन्दा शारीरिक गतिविधि, हात खुट्टाको प्रयोग, स्पर्श, बासना र कार्यबाट बढी सिकाई हासिल गर्दछन् । यस्ता सिकारुहरु पछि गएर नर्स, धावक, संगीतकार, सर्जन, खेलकुद विज्ञ, खेलाडी, कलाकार, डान्सर, शारीरिक शिक्षा शिक्षक, मेकानिक्स, डकर्मी अभिनेता आदि बन्न सक्छ । वास्तवमा यस्तो सिकाइ वास्तविक जीवनमा बहुत कामयावी हुन्छ ।
प्रयोगात्मक सिकारु र शिक्षकलाई आवश्यक सुझाव ः
सकेसम्म कक्षा कोठालाई नै प्रयोगशाला बनाएर गरेर सिक्ने सिकाइलाइ जोड दिने ।
अभ्यास, आराम र प्रयोगलाई प्राथमिकता दिने ।
डुलेर, घुमेर, खेलेर, कुदेर अध्ययन गर्न दिने जस्तोकी गणित दौड, हिज्जे दौड, खेल, डान्स आदि ।
लडिबुडी गर्ने, विभिन्न शारीरिक आसनमा सुतेर, उठेर, बसेर अवस्था परिवर्तन गराउने पढ्ने र पढाउने ।
प्रोजेक्ट वर्क, फिल्ड वर्क, सामुदायिक सर्वेक्षण, इन्टन्र्सिप, साइमल्टेसन, खेल विधि, प्रदर्शन, प्रयोग, प्रस्तुतीकरण, डान्स, गायन, अभिनय, सक्रिय शारीरिक क्रियाकलापबाट सिक्ने सिकाउने ।
ग्राफ, चित्र, नक्सा, चार्ट बनाउने ।
सिर्जनात्मक कार्य गर्न दिने ।
४) शाब्दिक सिकाइ शैलीः शब्दहरु बोलेर, लेखेर, पढेर बढी सिक्ने सिकारुलाई शाब्दिक सिकारु र यस्तो सिकाइलाई शाब्दिक सिकाइ र शैलीलाई शाब्दिक सिकाइशैली भनिन्छ । यो कार्य मस्तिष्कको कन्चट र निधारको खण्डसँग बढी सम्बन्धित हुन्छ । यसमा भाषाको प्रयोग र माध्यमबाट सूचनाहरु ग्रहण र सम्पादन गर्न सिकारु अभ्यस्त हुन्छ । उनिहरु सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक सीप मार्फत सिक्छन् । उनीहरुसँग उत्तम खालको स्मरण क्षमता हुन्छ । यस्ता सिकारुहरु फरक–फरक भाषाको अध्यनमा रुचि राख्छन् र पढेर आनन्दित हुन्छन् । कथा, कविता, नाटक, उपन्यास, लेख लेख्न मन पराउने र लेखेर आनन्दित हुने हुन्छन् । भाषा विषयहरुः नेपाली, अङ्ग्रेजी, हिन्दी, उर्दुआदिको सिकाइमा यो शैली अति प्रभावकारी मानिन्छ ।
शाब्दिक सिकारु र शिक्षकलाई आवश्यक सुझावः
नोट लेख्न र पढ्न लगाउने ।
पढ्न, पुनः पढ्न र लेख्न र पुनः लेख्न लगाई प्रशस्त अभ्यास गराउने ।
नोटको सारांश बनाउने ।
अवधारणा सम्झन शब्द सूची वा वाक्य सूची बनाउन लगाउने ।
पर्यायवाची, अनेकार्थी, उल्टो अर्थ दिने शब्द तथा संक्षिप्त शब्दसूची पढ्ने लेख्ने अभ्यास गर्ने सम्झिने ।
ग्राफ, चित्र, नक्सा तथा गणितीय तथ्यांकहरुको समेत भाषिक व्याख्या तथा विश्लेषण गर्ने ।
लेखेर प्रशस्त अभ्यास गर्ने गराउने ।
५) तार्किक सिकाइशैलीः तर्क, कारण, जिज्ञासा मन पराउने, प्रमाण बिना विषयवस्तु नमान्ने र पुष्टिको आधार लिने र सिकाइ ग्रहण गर्ने सिकारुलाई तार्किकसिकारु र त्यस्तो सिकाइ शैलीलाई तार्किक सिकाइशैली भनिन्छ । हाम्रो तार्किक सोचलाई मस्तिष्कको तालुको खण्डको देब्रे पाटोले नियन्त्रण र निर्देशन गरेको हुन्छ । तार्किकशैली विकासका लागि यो क्षेत्रलाई सक्रिय गर्नुपर्छ । जिज्ञासा, तर्क र समाधान मानव जीवनकै ज्ञानको प्रक्रियाको एक प्राकृतिक स्वभाव र विषय पनि हो । यस्ता सिकारुले गणित, विज्ञान लगायत सबै विषयहरु तार्किक तरिकाले सोचेर पढ्ने र बुझ्ने अनि समाधान गर्ने कोशिश पर्दछन् । साथै माइन्ड म्यापिङ, ब्रन्चिङ ट्री, तार्किक क्रम, कारण र प्रभाव सम्बन्ध जस्ता विविध विधिद्वारा सिकाइ हासिल गरिन्छ । यस्ता सिकारुले तुलनात्मक रुपमा जटिल गणनाहरु गर्नुको साथै चेस, चेकर, बुद्धिचाल, बाघचाल, तासजस्ता गेमहरु खेल्न मन पराउँछन् । त्यही आधारमा उनिहरुको सिकाइ प्रबन्ध मिलाउने कार्य विद्यालयले गर्न बान्छनीय हुन्छ ।
तार्किक सिकारु र शिक्षकलाई आवश्यक सुझावः
पाठको मुख्य सन्देश बुझ्ने र बुझाउने ।
वास्तविक मुख्य सूचनाहरु, तथ्यहरु र तथ्यांकहरुको संगठन गर्ने ।
पाठ र साधनलाई रणनीतिक मस्तिष्क तर्कमा प्रशोधन गर्न लगाउने ।
विशिष्ट उद्देश्यको निर्माण गरी प्रगतिको अभिलेखीकरण गर्न लगाउने ।
कम्प्युटर तथा मोवाइल गेम सोडुको खेली मस्तिष्कलाई क्रियाशील बनाउने ।
समालोचनात्मक सोच, तार्किक सोच, केन्द्रीकृत सोच, विकेन्द्रित सोच, मस्तिष्क मन्थन, अन्तरक्रिया, कारणात्मक प्रणालीका सिद्धान्तको ज्ञान र प्रयोगको व्यापक अभ्यास गराउने ।
आगमनात्मक तर्क, निगमनात्मक तर्क, शाब्दिक तर्क, साङ्केतिक तर्क, आत्मिक तर्कबाट विषयको पुष्टि र पुनर्पुष्टि गर्ने गराउने ।
६) सामाजिक सिकाइ शैलीः समुहमा बस्न रुचाउने, साथीसङ्गी बनाउने, समूह समुहको छलफल र अन्तरक्रिया र सामाजिकीकरणबाट बढी मात्रामा सिकाइ हासिल गर्ने सिकारु सामाजिक सिकारु र त्यस्तो सिकाइ शैलीलाई सामाजिक सिकाइशैली भनिन्छ । निधारको खण्ड र कन्चटको खण्डले धेरैजसो हाम्रो सामाजिक क्रियाकलापलाई संचालन गरेको हुन्छ । विषयवस्तुमा केन्द्रित हुन समूह निर्माण गरी विचारहरु सिर्जना गर्दछन् । यस्ता सिकारुहरुले समुदायका मुख्य समस्याहरुमा बढी चासो दिने र समस्या समाधानका उपायहरुमा छलफल गर्ने गर्दछन् । गाउँ–घर र समाजमा मिलेर बस्छन् र एक एर्कोलाई मद्दत गर्छन् ।
सामाजिक सिकारु र शिक्षकलाई आवश्यक सुझाव ः
एक आपसमा मिलेर सहयोगात्मक भावनाका साथ सिक्ने सिकाउने ।
सिकाइमा वृद्धि गराउन भूमिका प्रदर्शन, अन्तरक्रिया र प्रस्तुतीकरणमा जोड दिने ।
सिकाइमा समन्वय गर्ने ।
भाषिक अन्तरक्रिया कार्यक्रममा भाग लिने ।
सामाजिकीकरण भै समाजका समस्या समाधानमा सरिक गराउने ।
अरुको विवरणको ज्ञान लिन अन्तरवार्ता, सर्वेक्षण र प्रश्नवलीको प्रयोग गर्ने ।
सामाजिक मेलमिलाप, भाइचारा तथा सामाजिक व्यवहार सिक्ने सिकाउने ।
सामाजिक उतरदायी र सहानुभूतिको भावना जागृत गराउने ।
बाल क्लब, रेडक्रस, स्काउट, हेल्पिङ ग्रुप जस्ता सामाजिक संस्थामा सहभागी गरेर त्यसको माध्यमबाट सिक्ने सिकाउने ।
७) स्वःकेन्द्रित सिकाइशैलीः एक्लै बस्न रुचाउने, स्व–अध्ययन र एक्लै कार्य गरी बढी सिक्ने सिकारु स्वःकेन्द्रित सिकारु हो भने त्यस्तो सिकाइ शैलीलाई स्वःकेन्द्रित सिकाइशैली भनिन्छ । यस्तो सिकाइलाई मस्तिष्कको निधारको खण्ड, तालुको खण्ड र लिम्बिक प्रणालीले निर्देशित र नियन्त्रित गरेको हुन्छ त्यसैले त्यस क्षेत्रलाई सक्रिय गराउने क्रियाकलाप गराउनु पर्छ । सिकारुले आफ्नो भावना, चाहना र आकांक्षा अनुसार सिक्ने प्रयत्न गर्दछन् । उनिहरु के हुन् र के गर्न सक्छन् भनेर सोची बस्छन् । यस्ता सिकारुहरु अनाश्रित भएकाले हरेक दिनको सिकाइको कार्यमा आफै आफूलाई निर्देशित गर्दछन् । उनीहरु स्व–व्यवस्थापन, स्वनिर्णय र स्व–प्रतिक्रियामा अब्बल हुन्छन् । त्यसैले शिक्षकले उनिहरुका यस्ता शैलीलाई मध्यनजर गर्दै व्याक्तिगत सिकाइ सहजीकरणको कार्य गर्नुपर्छ ।
स्वःकेन्द्रित सिकारु र शिक्षकलाई आवश्यक सुझावः
सिकारुलाई शान्त र सुविधाजनक ठाउँमा अध्ययन गराउने ।
व्यक्तिगत सिकाइका लक्ष्य निर्धारण गरी नियमित प्रगतिको लेखा राख्ने ।
सिकाइको लगलाई कायम गर्ने ।
अगाडि सिकेको कुरामा प्रतिबिम्बन गर्ने र नयाँ विषयमा सोच्ने ।
अगाडि सिकेको कुरा र नयाँ कुरा बीच सम्बन्ध पत्ता लगाउने र सिक्ने ।
आत्मनिर्देशित कार्य गर्ने ।
इन्ट्रोस्पेक्टिभ र स्वप्रतिक्रिया क्षमता गर्ने ।
आफ्ना सवल र दुर्वल पक्ष पत्ता लगाउने ।
समय समयमा स्वःमूल्यांकन गर्ने ।
८) प्राकृतिक सिकाइशैलीः वास्तवमा सम्पूर्ण कुराको सार तत्व नै प्रकृति हो । बालक प्रकृतिकै सबैभन्दा सुन्दर सिर्जना हो । बालकका सिकाइ शैली पूर्णरुपले प्राकृतिक हुन्छन् । राल्फ वाल्डो इमर्शनले भनेका छन्, “हामी प्राकृतिक अवलोकनकर्ता हौं र त्यसपछि सिकारु । यो नै हाम्रो प्राकृतिक अवस्था हो ।” प्रकृति नै ज्ञान र विज्ञानको श्रोत हो । रुसोले त अझ “किताबहरु जलाऊ, पर्खालहरु भत्काऊ र बालकलाई प्रकृतिको काखमा लगेर फ्याँक” भनेका छन् । यस्ता सिकारुहरु प्रकृतिक बोटबिरुवा, जनावर चट्टान, पहाड, हिमाल घुम्न र धारणा बनाउन र रमाउन मन पराउँछन् । उनिहरु प्राकृतिक मनोरम दृश्य, पर्यावरण, जैविक विविधता, पारिस्थितिक प्रणाली र त्यसको सन्तुलनमा आफुलाई आनन्द मान्छन् र त्यसैबाट सिक्छन् । बालकको सिकाइशैली प्राकृतिक हुने हुँदा शिक्षकले पुस्तकरुपी बालकको पन्ना–पन्नाको अध्ययन गर्नुपर्छ र उसको जो शैली छ त्यही अनुसारको सहजीकरण गर्नुपर्छ ।
प्राकृतिक सिकारु र शिक्षकलाई आवश्यक सुझाव ः
प्रकृतिमा भएका कुराहरु बालकलाई नै प्रत्यक्ष अवलोकन, प्रयोग र परीक्षण गर्न दिने ।
सुन्दर र मनोरम प्रकृतिमा आनन्दित हुने ।
जीवनको आवश्यकता अनुसारको ज्ञान दिने वातावरणको सिर्जना गर्नु । बालकले प्राकृतिक अवस्थाले सिक्ने । नयाँ पारिस्थितिक प्रणालीको ढाँचाको पहिचान गर्ने । वनस्पति र जीवजन्तूको पहिचान गरी वर्गीकरण गर्न लगाउने । क्षेत्र भ्रमण, अवलोकन तथा तथ्यांकको अभिलेखीकरण जस्ता सिकाइका पद्दतिको प्रयोग गर्न लगाउनु । वास्तविक प्राकृतिक जीवनशैलीतर्फ बालकलाई विचरण गराउने । यसरी सिकारु स्वयम्ले आफ्नो सिकाइशैलीको पहिचान गरेर सोहीअनुसार पढ्ने र सिक्ने हो भने पढाई र सिकाइमा सही बद्लाव आउँछ र सफलतातिर उन्मुख हुन मद्दत मिल्छ । शिक्षकले पनि सिकारुकै सिकाइशैली अनुसारकै सिकाइ सहजीकरण विधि र पद्दतिको अवलम्बन गरी शिक्षण गर्ने हो भने नेपालको मौजुदा सिकाइ उपलब्धिमा उल्लेखनीय वृद्धि हुने हुन्छ । सिकारुले सुनेर, देखेर, गरेर, शाब्दिक, तार्किक, सामाजिक, व्यक्तिक, प्रकृतिक आदि कुन एक तरिका वा एक भन्दा बढी शैलीबाट धेरै सिक्छ त्यहीअनुसार शिक्षण गर्नु बान्छनीय हुन्छ । सिकारुका सिकाइशैली अनुसारका विद्यालय खोलेर शिक्षण गर्ने हो भने त झन् आफ्नो रुचि र शैलीअनुसारको विद्यालय छानी–छानी खुसीले पढ्न पाउँछन् र उपलब्धि पनि निश्चित नै उच्च हुन्छ । यसर्थ सिकारुको सिकाइ शैली पहिचान गरौं र सोही अनुसार शिक्षण गरौं ।
(गौतम मकवानपुरगढी–६, डुम्रेकुनास्थित जालपादेवी माविका प्रधानाध्यापक हुनुहुन्छ ।)