संप्रस पौडेल

कुटाई जहिल्यै “सेकेण्ड लास्ट” पो हुँदो रहेछ । हुन त घरबाट बिजारोपण भएपछि विद्यालयमा “अब यस्तो बदमासी गरिस् भने…” यहीँबाट सेकेण्ड लास्ट सिद्धान्त स्थापित भएको हुनुपर्छ ।

भन्न त विदेशिएको अभिभावकले विदेशमा कुट्न नपाएरै नेपालमा चाडवाडका नाममा “कुट्ने भ्याकेसन” मिलाएर बच्चासहित आएका पनि भन्लान् । तिनलाई आरोप लाउनुभन्दा दिनदहाडै ठूला ठूला मान्छे कुट्नेहरुकै कुरा गरौं आज ।

यो लेख लेख्नुअघि ठूलै छानेर कुटेछन् र लेख्नुपर्यो । अर्को भूतपूर्वको पाँच सात श्राद्ध सकिनुअघि पनि यसैगरी कुटाई खाएका इतिहास ताजै छ । परिवर्तन मैले ल्याएको भन्नेलाई पनि आरुनै पूर्व कार्यकर्ताले पिटेका इतिहास पनि मेटिएको छैन । विद्वान डाक्टर प्रधानमन्त्रीलाई पनि जुत्ताले हानेको कुरा हामै मस्तिष्कमा छँदैछन् ।

केले मात्रै कुटेनन् ? मुक्का, लात्ती, कुर्सी, फ्रेम, जुत्ता के के के के ? द्वन्द्वकालमा गोल्डस्टार र प्रेसर कुकरलाई झैँ यी सबैलाई प्रतिबन्ध लाउने हो भने के पो हुँदो हो ?

कुट्न पनि कहाँ मात्रै कुटेनन् ? चुनावी मैदानमा कुटे । राजनीतिक सभामा कुटे । विद्यालय व्यवस्थापन समितिको चुनावमा कुटे । खेलकूद विकास समिति गठनमा कुटे । राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय समाजसम्म पालैपालो अवसर मिलाई मिलाई, तिथी जुराई जुराई कुटे । जोशमा ताकी ताकी कुटे, थकाईले थाकी थाकी कुटे । विकास टारी टारी कुटे, बाहुला सारी सारी कुटे । सदनभित्र कुटे, सडकमा खुल्लै कुटे । अखडामा कुटे, मन्त्रालयमा कुटे ।

यत्रा कुटाई हुँदा हुँदै यो विषयमा लेखकहरुले लाजले, डरले, धम्कीले, पिँडालु उपहार पाउने लोभले, जागिर फुत्केला भन्ने शङ्काले लेख्नै चाहेनन् । जे होस्, कुटाईका यावत् सिद्धान्त हेर्दैगर्दा के प्रष्ट हुन्छ भने कुटाई खाने परम्परा नयाँ भने होइन ।

माथिका आधार र कारणहरुबाट के स्पष्ट हुन आउँछ भने कुटाइ परम्परा माक्र्सवादभन्दा पहिले नै जन्मिएको हो । यो प्रजातन्त्रभन्दा जेठो हो । गणतन्त्र त यसको फुच्चे खनाति पुस्ता मात्रै हो । इतिहासमा जे जे भए पनि गणतन्त्रमा मौलाएर यसले “बर्षौटे” अभियान चलाइरहेको प्रष्ट छ । यो पार्टीहरुको मेची–महाकाली अभियान, गाउँ फर्क अभियान, गाउँ–गाउँबाट उठ अभियान मात्रै होइन पछाडि फर्क र भाग अभियान, विदेशबाट घर फर्क र आन्दोलनमा सहभागी होउ अभियानभन्दा भिन्न खालको अभियान हो । यसैले यसलाई निरंकुशभन्दा निरंकुशदेखि स्वतन्त्रताका हिमायती सबैले विश्वभर अंगालेको पाइन्छ । यसकै आधारमा भन्न सकिन्छ, निरन्तरको अभ्यासका कारण पनि समाजवाद र कुटपीटबीच साख्खै कुनै न कुनै नाता जोडिएकै हुनुपर्छ ।

तात्तातै कुरा गरौं । अस्ति भर्खर ठूलै व्यवसायीलाई राजनीतिको नाममा कालो मोसो दलिदियो । केही दिनमैँ व्यापारीले “सेकेण्ड लास्ट” आन्दोलनबाट ल्याइसकेको राजा फुत्तै भागेर बेपत्तिएपछि यो देशमा राजा त के राजाका मरेका बा आए पनि कुटपीटको व्यवस्था बदल्न सक्दैनन् भन्ने सोचिरहेथे । एक्कासी गणतन्त्रको राजापक्ष पार्टीले पनि निर्णायक आन्दोलन गर्ने कुरो कता–कता च्यानलतिर पढ्न, सुन्न, हेर्न पाइयो । निर्णायक भनेको पनि त “सेकेण्ड लास्ट” त होला नि भन्ने पनि लागेकै हो । यस्ता आन्दोलनहरुबाट विरक्तिएर भविष्य खोज्नेहरु भागाभाग देखिन्छ । तरकारी गल्लीमा साँझ छ बजे “झोलाको दश, झोलाको दश” मा पनि बिक्री नभएका निर्णायक आन्दोलनहरुले अनुत्पादक कुटाईबाट देशको भविष्य झनै पछाडि परिरहेको पो हो कि ?

यही हप्ता कुटाई, धम्क्याई, थर्काइ, बेइज्जति, भण्डाखोर खबरहरुको युट्युवमा भिडभाड देखियो । शीर्षकबाटै लाखौं भ्यूज कमाउन ताकेकाहरुका बीचमैँ तानातान हानाहानकै दृश्य देखिन थालेको छ । अर्थात् बजारमा एक तहका राजनीतिक व्यक्तिलाई “दलालगिरी” भनेर गाली गर्दागर्दैका भाषण राम्रै बिक्री भइरहेका थिए । एकाएक उनका पनि सम्पत्ति करोडका करोड रहेको, सानदार गाडी चढ्ने, काठमाडौंमा कतिवटा बङ्गला भनेर अर्को “हल्लाखोर” च्यानलमा सार्वजनिक भइसकेको रहेछ । बल्लबल्ल “राष्ट्रवादी” जिउँदो सपूत घोषणा गर्दा गर्दै घोषणा सभामैं उपाधि फिर्ता गर्नुपर्ने गरी उनको नेप्सेमा पूरापूर सर्किट हानेको सबैले देख्न थालेछन् ।

देशमा उबेलामा पूरानो व्यवस्था विरुद्धको आन्दोलनलाई थेग्न एउटा सरकारी दस्ता तयार भएको थियो । काम थियो, लौरो बोकेर हुलदङ्गा रोक्ने, ठोक्ने, सकेको भिड्ने । त्यो दस्ता अहिले पेन्सन खाने समयमा पुगिसक्यो । युवा विदेशिरहेका बेलामा आन्दोलनमा सहभागी हुनकै लागि एउटा सरकारी दस्ता तयार गर्न सके लाखौंले रोजगारी पाउने ज्ञान यहाँबाट पनि लिन सकिन्छ ।

आन्दोलन थेग्ने, सके कुट्ने नसके कुटाई खाने दस्ताको सिङ्गै जीउको बीमा गर्नु पनि परेन । ढाडको मात्रै गरे भैहाल्यो । गठन गर्न सके तिनलाई सबै दलले साझा रुपमा आन्दोलनमा प्रयोग गर्न पाउँथे । मासिक तलब तोक्ने काम गरे आन्दोलनमा नेतालाई बोक्ने, विपक्षीलाई ठोक्ने गरिहाल्थे । तिनलाई चन्दा उठाउनेदेखि भान्साका धन्दा चलाउनेसम्म प्रयोग गर्न सकिन्थ्यो । आन्दोलनका दिनमा “टिएडिए” सुविधा थप गर्न सके रमाई रमाई महिनामा तीनचारोटा आन्दोलन त्यसैको बलमा गरिदिन्थे । तिनलाई अन्तरप्रदेशदेखि अन्तरजिल्लासम्म भिडाउन सकिन्थ्यो । राष्ट्रपति शिल्ड, प्रधानमन्त्री कप, जिउँदादेखि दश श्राद्ध गरेकासम्मका पूर्व÷भूतपूर्व प्रधानमन्त्री कप, उपराष्ट्रपति भलिबल हुँदै टोलकपसम्ममा तिनीहरुकै बीचमा प्रतिष्पर्धा गराउन सकिन्थ्यो ।

तिनलाई साइबर सेनामा भर्ती गरे “एयरपोर्टमा सुन छ, पुलिसले थुन्छ, पत्याउने कुन छ ?” यस्ता भाष्यहरु पैदा हुँदैनथे । यो स्तम्भकारजस्तै मामुली लेखकदेखि ख्वाक्क खोक्ने बित्तिकै “डलरे” मानिएका लेखकसम्म, बुढी फकाउने कविता लेख्नेदेखि अन्तर्राष्ट्र थर्काउने कविसम्म, विद्यालय धाउने शिक्षकदेखि विश्वविद्यालय सिध्याउने विद्वानसम्मलाई यही दस्ताले काम तमाम गर्ने आँकलन गर्न सकिन्छ नै ।

यसरी हेर्दा राजनीति गर्नेका भाउ र आलुप्याजको भाउ कतिखेर घटबढ हुन्छ कुनै पत्तो नै नहुँदो रहेछ भन्ने कुरा मात्रै स्थायी देखियो । यसर्थ यो आलेख “सेकेण्ड लास्ट” मात्रै हो । लेख्दा लेख्दै एकाएक “राष्ट्रवादी” भइएला भन्ने खुशी र तुरुन्तै “खुइलिएर अराष्ट्रिय डलरे” पो भइएला कि भन्ने पीर सँगसँगै आइलाग्यो ।

अन्ततः कुटाईको नेप्से बढेका बढ्यै छ । काम गर्नेहरुलाई खेदेका खेद्यै गरेपछि बाँकी रहेका रोगी र बुढाबुढीले कति कुट्लान् ? कुटे पनि के दुख्ला ? राजनीति गर्नेहरुको भविष्य उज्ज्वल छ । दुईचार कुटाई खाऔं तर हरेस नखाऔ । सबैकुरा हाम्रै पालामा सम्भव छ । जदौ ।