हेटौंडाः प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र मकवानपुरको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । शुक्रबार हेटौंडा–५ स्थित केन्द्रको कार्यालयमा कार्यक्रम भएको हो । कार्यक्रममा केन्द्रको कुल क्षेत्रफल ४७.९ हेक्टरमध्ये जलाशयको क्षेत्रफल १७.६९ रहेको जानकारी दिइएको छ । केन्द्रमा पोखरीको संख्या ४४ रहेकोमा ३५ वटा पोखरी प्रयोगमा आएको बताइएको छ ।
केन्द्रले प्राकृतिक जलाशय र त्यसमा रहेको माछालगायत जलीय जीवहरुको सूची तयार र अद्यावधिक गर्ने, प्राकृतिक जलशायमा सम्भाव्यता अध्ययन, सरोकारवाला निकाय र संघ संस्थाबीच समन्वय र उपयुक्त कार्यक्रम निर्धारण एवम् कार्यान्यन गर्ने गरेको बताइएको छ । प्राकृतिक जलाशयमा जलीय विविधता कायम राख्न संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गरेको, प्राकृतिक जलाशयमा उपयुक्त हुने माछा तथा सम्भाव्य अन्य जलीय प्रजातिहरुको विकास गर्ने, मत्स्य रोग, मत्स्य दाना र पानीको गुणस्तरसम्बन्धी प्रयोगशाला सेवा सञ्चालन गर्ने गरेको र मत्स्य बिज उत्पादन, वितरण र मत्स्य प्राविधिक सेवा प्रदान गर्ने गरेको बताइएको छ ।
आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७९/०८० सम्ममा राजश्वमा वार्षिक औसत ४ लाख रुपैयाँले वृद्धि भएको कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रमा ७ विकासे जातका माछाको मात्र प्रजनन् तथा भुरा बिक्री वितरण हुँदै आएकोमा हाल २ जातका स्थानीय तथा लोपोन्मुख सहर र गर्दी जातको माछाको साथै १ सौन्दर्य जातको रंगीन कोइकार्प माछा प्रजनन् तथा भुरा बिक्री वितरणको क्रममा रहेको जनाइएको छ ।
केन्द्रबाट वार्षिकरुपमा ४ दशमलब ५ करोड ह्याचरिङ र ३५ लाख फ्राई तथा फिङ्गरलिङ्ग माछाको भुराहरु कृषकहरुलाई बिक्री वितरण गर्दै आएको छ । विगतका वर्षभन्दा ह्याचरिङमा ३ करोड र फ्राई तथा फिङ्गरलिङ्गमा १० लाखले वृद्धि भएको जनाइएको छ ।
आर्थिक वर्ष २०७५/०७६ देखि प्राकृतिक जलाशय, जलीय जैविक विविधतासम्बन्धी अध्ययन अनुसन्धानको क्रममा राप्ती नदी, स्यार्पू ताल, बागमती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी, कर्णाली नदी, बेगनास ताल आदि नदी तथा तालहरुमा माछाको विविधता सम्बन्धी जाँच तथा अभिलेख राखिएको बताइएको छ । जसबाट ४५ प्रजातिको माछा नमुना संकलन गरिनुका साथै पानीको गुणस्तर जाँचसमेत गरिएको छ ।
दिगो विकासका लागि मत्स्य क्षेत्रमा सघन मत्स्यपालन मत्स्य विकास कार्यक्रम, चिसो पानी मत्स्य विकास कार्यक्रम, मत्स्य रोग तथा क्वारेन्टाइन व्यवस्थापन कार्यक्रम, सौन्दर्य माछा विकास कार्यक्रम, एकीकृत मत्स्य विकास कार्यक्रम पिँजडामा मत्स्यपालन प्रवद्र्धन कार्यक्रम, जलीय जीव तथा वनस्पति विकास कार्यक्रम, स्थानीय माछा प्रजनन तथा प्रवद्र्धन कार्यक्रम गरेको कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रको भावी योजनाअन्तर्गत् ग्रासकार्प माछाको आहारको रुपमा पोखरीको डिलमा उन्नत त्था पोसिलो जातका घाँस लगाएको र यसबाट माछा दाना तथा आहारमा लाग्ने लागतका तुलनात्मक कमी आउने अपेक्षा गरिएको छ ।
केन्द्रले एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत् बंगुरसँग माछा पालन प्रणालीको विस्तारसँगै मत्स्य संग्रहालयअन्तर्गत् संरक्षित माछा नमुना तथा जीवित माछाको संग्रहालयको स्थापना तथा सञ्चालन गर्ने योजना अघि सारेको छ । जलीय जैविक विविधता संरक्षण एवम् प्रवद्र्धन तथा प्राकृतिक जलासयमा आश्रित जनसमुदायहरुको सामाजिक–आर्थिक स्तरोन्नति र जीविकोपार्जनसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरु गर्ने योजना रहेको छ । केन्द्रले हप्ताको १ दिन खाने माछा बिक्री वितरण गर्ने योजना बनाएको कार्यक्रममा बताइएको छ ।
केन्द्रमा सवारी साधनको समस्या, जग्गा अतिक्रणको समस्या, पानीको समस्या तथा सडकको समस्या रहेको बताइएको छ । बढ्दो शहरीकरण र मत्स्यजन्य उत्पादनमा मानवीय अतिक्रमणको कारण सुरक्षामा कठिनाई हुनुका साथै प्राविधिक जनशक्तिको कमी, उत्पादनमूलक भौतिक संरचनाहरु जीर्ण रहेकोर केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका÷कार्यविधिको अभाव रहेको कार्यक्रममा जानकारी दिइएको हो ।
केन्द्रले सुशासनसम्बन्धी कार्यक्रमअन्तर्गत् मासिक बैठक गर्ने गरिएको, आवश्यकताअनुसार सरोकारवालासँगको बैठक गर्ने गरिएको, कार्यक्रम सार्वजनिक गर्ने व्यवस्था गरिएको, वेवसाइट तथा गुनासो व्यवस्थापन गरिएको, सूचना अधिकारी तोकिएको र खरिद इकाई गठन गरिएको जानकारी दिइयो ।
केन्द्रका प्रमुख सरोजकुमार यादवको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत सरोज पौडेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुशील घिमिरेलगायतको उपस्थिति रहेको थियो ।