हेटौंडाः नेपाल पब्लिक क्याम्पस संघ मकवानपुरको अध्यक्षमा सुवास चन्द्र कँडेल निर्वाचित हुनुभएको छ । शनिबार निर्मल बहुमुखी क्याम्पसमा भएको प्रथम अधिवेशनले निर्मल बहुमुखी क्याम्पसका प्रमुख कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
मकवानपुर जिल्लाका ६ वटा सामुदायिक क्याम्पसका प्रतिनिधिको सहभागिता रहेको थियो । संघको सचिवमा वंशगोपाल बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मण कँडेल र कोषाध्यक्षमा पालुङ्ग बहुमुखी क्याम्पसका प्रकाश पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यमा डीबी स्याङ्बो, चुडाराज उप्रेती, बालकृष्ण शर्मा र गोविन्द बर्तौला चयन हुनुभएको सहायक प्राध्यापक राममणि बर्तौलाले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्रि कुमारी मुक्तानको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।
उद्घाटन समारोहमा पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय अध्यक्ष सत्रुघन गुप्ता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुर बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष अनन्तप्रसाद पौडेल, निर्मल बहुमुखी क्याम्पसका अध्यक्ष राजकुमार भेटवाल, वंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष उज्ज्वल चौलागाई, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायको पनि उपस्थिति रहेको थियो । पदमपोखरी बहुमुखी क्याम्पसका प्रमुख निबन्ध लामाको संयोजकत्वमा अधिवेशन भएको हो ।