हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले हेटौंडामा आयोजना गर्न लागेको खेलकुद मेलामा व्यापार गर्न लागिएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आपती जनाएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै माउवा संघले खेलकुद विकास समितिले अन्य व्यावसायिक संस्थासँग साँठगाँठ गरेको आरोप लगाएको छ ।
आर्थिक मन्दीको प्रभावले उद्योगी/व्यवसायीदेखि आमसर्वसाधारण सबैलाई प्रताडित गरिरहेको वर्तमान अवस्था हेटौंडाका व्यवसायीहरुलाई प्रत्यक्ष असर पर्नेगरी मेला/महोत्सव आयोजना हुन गइरहेको संघको भनाई छ । देशभर उद्योग वाणिज्य संघहरुले औद्योगिक तथा व्यावसायिक बस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा उद्यम गर्न चाहनेहरुलाई उद्यमशील हुन प्रेरित गर्नका लागि मेला/महोत्सव आयोजना गर्ने गरेकाले पेशागत बस्तुगत व्यवसायीहरुले पनि आफ्नो व्यवसाय अनुसार प्रदर्शनी गर्दै आएको उल्लेख गर्दै संघले विरोध जनाएको हो ।
उद्योग तथा व्यापार क्षेत्रसँग सरोकार नराख्ने संघ, संस्थाहरुले पनि सोही प्रकृतिको मेला÷महोत्सव आयोजना गर्नु बेथितिपूर्ण भएको निश्कर्षसहित २०७६ मंसिर १० गते गृह मन्त्रालयबाट परिपत्र पनि जारी गरिएको संघले दावी गरेको छ । असम्बन्धित संघसंस्थाहरुले व्यापारिक मेला आयोजना नगर्न÷नगराउन यथोचित व्यवस्थाको माउवा संघले अनुरोध गरेको छ ।
मकवानपुर जिल्लाका विभिन्न बस्तुगत संघहरुले उक्त व्यापारिक प्रकृतिको मेला गर्न स्वीकृति प्रदान नगरीदिन हेटौंडा उपमहानगरपालिका कार्यालयमा २०८० कात्तिक २० गते संयुक्त ज्ञापनपत्रसमेत पेश गरेको थियो । संघको तर्फबाट पनि उक्त महोत्सव स्थगनका लागि मंसिर १५ गते मकवानपुर जिल्ला खेलकुद विकास समिति हेटौंडालाई पत्राचार गरेको, मंसिर १० गते हेटौंडा उपमहानगरपालिका, १७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुर, अन्य मितिमा प्रदेश खेलकुद विकास परिषद्, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतका निकायहरुमा संघले ज्ञापनपत्र समेत बुझाएको संघले जानकारी दिएको छ ।
प्रदेश खेलकुद विकास परिषद्ले महोत्सव स्थगित गर्न मकवानपुर जिल्ला खेलकुद विकास समितिलाई पत्राचार समेत गरिसकेको तर आयोजकले व्यापारिक मेला नरोकी प्रचारप्रसारमा लागेको संघले जनाएको छ । महोत्सवले जिल्लाको व्यावसायिक वातावरण बिग्रन सक्ने र त्यसबाट उत्पन्न हुनसक्ने असरको पूर्णजिम्मेवारी आयोजक स्वयंको हुनेसमेत संघले जनाएको छ । मेला स्थगन नभएमा संघ आन्दोलनमा जाने संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताउनुभयो । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, पूर्वअध्यक्ष अरुणराज सुमार्गी, जीवनकाजी माकजुको पनि उपस्थिति रहेको थियो ।