हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, रमनाटारमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय उमेश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बुधबार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३७८३ नम्बरको खाली ट्रकले पैदलयात्री प्रजालाई ठक्कर दिएको थियो । विद्यालय जाँदै गरेका प्रजालाई ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट प्रजा गम्भीर घाईते भएका थिए । घाइते प्रजालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी पठाएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान ११ बजेर ४५ मिनेटको समयमा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक र ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको छ ।