मुलुकमा सार्वजनिक भएका ठूला भ्रष्टाचारको काण्डहरुमा राजनीतिक नेतृत्व जोडिने गरेको छ । सत्ता र शक्तिको आडमा राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त हुँदा विकास र समृद्धिको सपना देखेका आम नेपाली नागरिक भने निराश बन्दै गएका छन् । विकास, निर्माण र समृद्धिको शत्रुका रुपमा रहेको भ्रष्टाचार र घुसखोरीका घटना दिनहुँजस्तो सार्वजनिक भइरहँदा आम नेपालीलाई यसले झस्काइरहेको छ । हरेक सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने उद्घोष गर्ने गरेको भए पनि सरकारका मन्त्री तथा राजनीतिक नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको ठूला भ्रष्टाचारका काण्डहरु सार्वजनिक भइरहनुले राजनीति र भ्रष्टाचार एक अर्काको परिपूरकजस्तो देखिएको छ । निर्वाचनको समयमा सम्पूर्ण राजनीतिक पार्टीका घोषणापत्र र भाषणको विषय नै भ्रष्टाचारको अन्त्य गरी विकास र समृद्धि ल्याउने हुन्छ । घोषणापत्रमा दलहरुबीच विकास, निर्माण र समृद्धि प्राप्त गर्न देखिएको प्रतिस्पर्धा निर्वाचनपछि ओझेलमा परिरहेको छ ।

मुलुकमा राजनीतिक नेतृत्व पारदर्शी नहुँदा भ्रष्टाचार बढेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । शनिबार २० औँ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले राजनीतिक दल पारदर्शी भए भ्रष्टाचार कम हुने बताएका हुन् । नेपालमा भ्रष्टाचार संस्कारको रुपमा फैलिनुमा मुख्य दोषी राजनैतिक दल भएको उनले बताए । आफ्नो फाइदाका लागि मन्त्रिपरिषद्बाट विभिन्न निर्णय गरेर भ्रष्टाचारलाई प्रोत्साहन दिइरहेको हुँदा सरकारले नै भ्रष्टाचारलाई प्रोत्साहित गरिरहेको पाइएको छ । कर्मचारीलाई राजनीतिक दलले दवावमा पारी कानुनविपरित काम गर्न लगाउने गरेको मुख्यमन्त्रीको भनाइ छ । बागमती प्रदेश सरकारलाई अख्तियारले २२ बुँदे निर्देशन दिएको भन्दै मुख्यमन्त्रीले अख्तियारका कारण कतिपय विकास निर्माणका काममा रोकावट ल्याएको बताएका छन् । अख्तियार निष्पक्ष भई सत्यको खोजी गर्न आवश्यक रहेको भन्दै मुख्यमन्त्रीले राम्रो उद्देश्यले गरिएका काममा साथ दिन र आफ्नो अधिकार न्यायको निमित्त प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

सबैतिर भ्रष्टाचार मौलाइरहेको समयमा भ्रष्टाचारको छानविन गरी दोषीविरुद्ध मुद्दा चलाउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दैनिक सयौं उजुरी पर्ने गरेको छ । अख्तियारलाई तर्साउने हतियार बनाउने क्रम बढेको भन्दै यसप्रति चिन्ता व्यक्त गरिएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार असफल भइरहेको अवस्थामा अख्तियारमा भ्रष्टचारविरुद्ध उजुरी पर्नु स्वभाविक हो । आम नागरिकमा बढ्दै गएको सचेतना, सामाजिक सञ्जाल तथा आम सञ्चार माध्यम सहज पहुँचका कारण भ्रष्टाचारविरुद्ध उजुरी बढ्नुलाई अन्यथा मान्न नहुने भए पनि कुनै व्यक्तिप्रति असन्तुष्टि वा असमझदारी हुँदैमा उसलाई दुःख दिने नियतले बेनामे र झुटो उजुरी दिने परम्पराको विकास हुनु हुँदैन । यसले अख्तियारका कर्मचारी तथा अनुसन्धान कार्यमा नकारात्मक प्रभाव पार्न सक्छ । धेरैजसो झुटो उजुरी आउने क्रम बढ्दै जाँदा साँच्चै भ्रष्टाचारविरुद्धको उजुरीलाई पनि अख्तियारले बेवास्ता गर्ने सम्भावना बन्नसक्छ ।

भ्रष्टाचारका कारण नागरिकले दुःख पाउँदै गएपछि युवा वर्ग विदेशिने क्रम बढिरहेको छ । जनताको सेवा गर्न राजनीति गरेको भन्नेहरु भ्रष्टाचारमा लिप्त छन् । भ्रष्टाचारमा संलग्न अधिकांश व्यक्ति कुनै न कुनै राजनीतिक दलमा आवद्ध रहेको हुन्छ । राजनीतिक दलमा आवद्ध नहुनेले पनि भ्रष्टाचार गरेर दल तथा नेतालाई मोटो रकम सहयोग गर्ने गरेका हुन्छन् । अख्तियारमा पर्ने गरेको उजुरीले कतिपय काममा बाधा पुगे पनि यसलाई अन्यथा मान्नुहुन्न । अख्तियारमा उजुरी परेकै आधारमा विकासमा बाधा पुग्यो भन्नुभन्दा विकास निर्माणका काममा तोकिएको गुणस्तर कायम गरी समयमा सम्पन्न गराउन सबै राजनीतिक नेतृत्व र कर्मचारी प्रशासन गम्भीर बन्नु उचित हुनेछ ।