हेटौंडाः प्रदूषण भएको भन्दै जनसरोकार केन्द्र मकवानपुरले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार जनसरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुव चौलागाईले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।
ध्वनी प्रदूषणका कारण मानिसलाई मानसिकरुपमा असर गर्ने, मुटुरोगीहरुलाई असर गर्ने, श्रवण शक्तिमा ह्रास आउनेजस्ता समस्याहरु उच्चरुपमा हुने उहाँको भनाइ छ । प्रदूषण संवेदनशील समस्या बन्दै गएको भन्दै नेपालको संविधानले प्रदान गरेको स्वच्छ वातावरण एवम् स्वास्थ्य सम्बन्धी हकबाट आम नागरिक वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । ध्वनी प्रदुषणका कारण विभिन्न असर पुगिरहेकाले यसको निदानका लागि नागरिक समाज, राजनैतिक पार्टी, स्थानीय तह र धार्मिक संघसंगठन, राज्यका निकायहरु सबै मिलेर यो समस्याको समाधान गर्नु आवश्यक भएको उहाँले जानकारी दिनुभयो । वातावरण प्रदूषण, ध्वनी प्रदूूषणजस्ता समस्या समाधान गर्न आवश्यक रहेको चौलागाईंले बताउनुभयो । सवारी साधनमा बजाइने हर्नले उच्च ध्वनी प्रदूषण भइरहेकाले पूर्णरुपमा निषेध गर्नुपर्ने, विभिन्न धर्मावलम्बीहरुले आफ्नो मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिदहरुमा प्रयोग भइरहेका माइक, स्पिकरजस्ता उच्च ध्वनी आउने साधनहरुले स्वास्थ्यमा गम्भीर समस्या गराएकोले साउण्ड प्रुफ गरी सम्बन्धित स्थानमा मात्रै बज्ने व्यवस्था गर्नुपर्ने माग रहेको छ ।
सिन्केधुप बाँसको सिन्काबाट बन्ने र धुपमा बारुदको मिश्रणसमेत हुनेहुँदा मानिसको फोक्सोजस्ता संवेदनशील अंगमा प्रत्यक्ष असर परिरहेको छ त्यसैले मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिदमा प्रयोग गर्ने सिन्केधुपलाई निषेध गर्न माग गरिएको छ । स्वास्थ्यमा प्रतिकूल असर नपर्ने धुपहरु स्थानीय प्रशासनबाट स्वीकृत भएकोमात्रै प्रयोग गर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । विद्यालय, कलेजहरुमा स्पिकर, माइक राखेर खुलारुपमा विभिन्न कार्यक्रम गर्दा ध्वनी प्रदूषण भइरहेकाले विद्यालय, कलेजहरुले साउण्ड प्रुफ हलमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ । बस्तीमा प्रत्यक्ष असर पर्नेगरी क्रसर उद्योगहरु सञ्चालन गर्दा ध्वनी एवम् धुलोका कारण प्रदूषण भइरहेकाले यसलाई अनुगमन गरी ध्वनी एवम् धुलो नियन्त्रणमा कडाई गर्नसमेत माग गरिएको छ । हेटौंडाको तीन ठाँउमा रहेका सिमेन्ट उद्योगहरुबाट निस्कने धुलो र धुवाँले हेटौंडामा वातावरणीय प्रदूषण भइरहेको र भविष्यमा यो अत्यन्तै जटिल वातवरणीय प्रदूषणको कारक बन्ने निश्चित भएकाले सिमेन्ट उद्योगहरुलाई धुलो एवम् धुवाँ नियन्त्रणको लागि कानुनबमोजिमको व्यवस्था गर्न निरन्तर अनुगमन गर्नुपर्नेजस्ता माग राखिएको छ । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सेढाइले आफूले समस्या समाधानको पहल गर्ने बताउनुभयो ।