हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशमा राजनीतिक नेतृत्व पारदर्शी नभएको बताउनुभएको छ । शनिबार २० औँ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक नेतृत्व पारदर्शी नभएकोले भ्रष्टाचार बढेको बताउनुभयो ।
राजनीतिक दल पारदर्शी भए भ्रष्टाचार कम हुने बताउँदै, उहाँले भन्नुभयो, ‘नेपालको अवस्था उत्साहित नभई निराशाजनक छ, नेपालमा भ्रष्टाचार संस्कारको रुपमा फैलिएको छ, हिजो राणा, राजाको पालामा पनि भ्रष्टाचार भएको र अहिले पनि सबैलाई कमाउनमात्र ध्यान भएको छ ।’ भ्रष्टाचारको मुख्य दोषी राजनीतिक दल भएको उहाँले आरोप लगाउनुभयो । आफ्नो फाइदाका लागि सरकारले मन्त्रिपरिषद्बाट विभिन्न निर्णय गरेर भ्रष्टाचारलाई प्रोत्साहन दिइरहेको उहाँको भनाइ छ ।
राजनीतिक दल सरकारमा बस्दा एउटा कुरा गर्ने र सरकारबाट बहिरिएपछि अर्को कुरा गर्न नहुने पनि उहाँको भनाइ थियो । कर्मचारीलाई राजनीतिक दलले दवावमा पारी कानुनविपरित काम गर्न लगाई समस्या आइरहेको बताउँदै आफू सरकारमा आएपश्चात् कुनै पनि कर्मचारीलाई दवावमा नपरी कानुनसम्मत काम गर्न निर्देशन दिएको बताउनुभयो ।
अख्तियार तर्साउने हतियार भएको बताउँदै उहाँले भन्नुभयो, ‘अख्तियारले बेनामी निवेदन लिएर छानविन गर्ने, त्यसमा समावेश नभएकाले अनावश्यक दुःख पाउने गरेको छ । सबैले गम्भीर भएर समीक्षा गर्न आवश्यक रहेको छ । अहिले व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको छ ।’ अख्तियार निष्पक्ष भई सत्यको खोजी गर्न आवश्यक रहेको बताउँदै सर्वसाधारण जनतालाई दुःख दिन नहुने उहाँको भनाइ रहेको छ ।
सरकारी कार्यालय बदला लिने हतियार बन्न नहुने बताउँदै बागमती प्रदेश सरकारलाई अख्तियारले २२ बुँदे निर्देशन दिएको बताउनुभयो । अख्तियारले कामको उद्देश्य र परिणाम हेरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । अख्तियारले विभिन्न काममा रोकावट ल्याएको बताउँदै राम्रो उद्देश्यले ल्याएको काममा साथ दिन जरुरी रहेकाले आफ्नो अधिकार न्यायको निमित्त प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रदेश सरकार व्यवहारले जवाफ दिन तयार भएकाले सकारात्मक पक्षलाई साथ दिएर सबै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । राज्य शासक नभई सेवा गर्ने भएकाले भ्रष्टाचार निवारणमा एकले अर्कालाई दोषी नदेखाई सबै निष्पक्ष भएर कार्य गर्नुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख नरहरि घिमिरेले ११ जिल्लालाई यस कार्यालयले हेर्ने बताउँदै आयोगमा मकवानपुरबाट सबैभन्दा धेरै मुद्दा परेको बताउनुभयो । घुस लिनुमात्र भ्रष्टाचार नभई सार्वजनिक पद वा सम्पत्तिको दुरुपयोग गर्नु पनि भ्रष्टाचार भएको उहाँले जानकारी गराउनुभयो । अख्तियारमा सार्वजनिक विकास निर्माण, नदी दोहनको विषयमा बढी मुद्दा पर्ने गरेको बताउँदै समयमा काम नगरे पनि भ्रष्टाचार हुने उहाँको भनाइ छ । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले आफूले गर्नुपर्ने काम नगरे भ्रष्टाचार हुने बताउँदै नागरिकप्रतिको कर्तव्यको पालना गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकको सल्लाह, जागरुकताबाट भ्रष्टाचार नियन्त्रण गर्न सकिने उहाँल े बताउनुभयो ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको सयुक्त आयोजनामा कार्यक्रम भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको प्रमुख आतिथ्य तथा बागमती प्रदेशका प्रमुख सचिव उपाध्यायको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, चितवन र मकवानपुरका जिल्ला प्रशासन कार्यालयका प्रमुख, सम्बन्धित कार्यालयका प्रमुख, प्रहरीलगायतको उपस्थिति रहेको थियो ।