हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले युवा लक्षित सीपमूलक तालिम सुरु गरेको छ । नारी सीप सृजना केन्द्र हेटौंडाको ‘सुरक्षित स्थानागमन प्रवद्र्धन’ परियोजना अन्तर्गत सिटिइभिटीको पाठ्यक्रममा आधारित ३९० घण्टाको तालिम सुरु भएको छ । ४ वटा विधामा रहेको तालिममा २० जना युवाहरु सहभागी रहेका छन् ।
नारी सीप सिर्जना केन्द्रको आयोजनामा हेटौंडा–४ मा रहेको हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रमा सहभागीलाई आवासीय सुविधासहित तालिम प्रदान गरिन लागिएको हो । शुक्रबार एक कार्यक्रमका बीच हाम्रो प्रशिक्षण तालिम केन्द्र हेटौंडामा तालिमको उद्घाटन गरिएको हो । केन्द्रले राक्सिराङका ७ वटा वडाका २० जना युवाहरुलाई आवासीय सुविधासहित कुक, मोवाइल मर्मत, सैलुन, अटोमोवाइल मर्मत तालिम दिने भएको हो । जस अनुसार अटो मोवाइल इन्जिनियरिङमा ४, कुकमा १२, मेवाइल मर्मतमा २ र सैलुनमा २ जना युवाहरु सहभागी हुने केन्द्रले जनाएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिविकोपार्जनका लागि युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सीप सिकेर आफ्नै ठाउँमा केही गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।
राक्सिराङले वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि छुट्टै शाखा विस्तार गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो । उक्त शाखाबाट युवाहरुको सीप र वैदेशिक रोजगारमा गएकाहरुको तथ्याङ्कहरु समावेश गर्ने तथा आवश्यकता अनुसार तालिम संचालन र अन्य समन्वयात्मक काम गर्ने उहाँको भनाई छ । ‘तालिम समय सापेक्ष छ । जीवन निर्वाह र आर्थिक समृद्धिका लागि फलदायी छ । युवालाई लक्षित गरेर सीप सिकाउने र वैदेशिक रोजगारीमा जाने युवाहरुको तथ्याङ्क राख्न छुट्टै शाखा गठन गर्ने गाउँपालिकाले तयारी गरेको छ’, उहाँले भन्नुभयो, ‘दुःखमा परेपछि मात्र पालिकालाई जानकारी हुन्छ । सो समस्या समाधानका लागि पालिकाले वैदेशिक रोजगारी तथा तालिम शाखा गठन गरेको हो । पालिकाले सीप र वैदेशिक रोजगारीमा गएर समस्यामा परेका युवाहरुको सहजताका लागि सम्बन्धित निकायहरुसँग कानुनी बाधा फुकाउन छलफल भएको छ ।’