हेटौँडाः हेटौँडा–१८, हर्नामाडीस्थित वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य बिष्णुमाया थपलिया र सहकारीको ज्येष्ठ सदस्य रत्न बहादुर दुरैलीले संयुक्त रुपमा साधारणसभाको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि थपलियाले सहकारी बिगतदेखि हालसम्म पारदर्शितामा चलिरहेकाले ढुक्क भएर बचत तथा ऋण कारोबार गर्न सहज भएको बताउनुभयो । उहाँले आगामी दिनहरुमा यसैगरी कारोबारलाई निरन्तरता दिन पनि सुझाव दिनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष अरुणकुमार खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आगामी दिनहरुमा सहकारी वित्तीय कार्यक्रमलाई जोड दिँदै सदस्यहरुको ऐच्छिक बचत मजबुत पारिने र दैनिक बचतलाई विस्तार गर्दै लगिने योजना सार्वजनिक गर्नुभयो ।
यसैगरी सहकारीका कोषाध्यक्ष इमान बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सहकारीले आर्थिक बर्ष २०७९/०८० मा ८२ लाख ३९ हजार रुपैयाँ नाफा भएको जानकारी दिनुभयो । सहकारीको कुल शेयर रकम ५१ लाख ९९ हजार रुपैयाँ, कुल बचत रकम ५ करोड ९७ लाख ४६ हजार रुपैयाँ, कुल कर्जा लगानी ५ करोड ८३ लाख ९ हजार रुपैयाँ र कुल मौज्दात १ करोड ७७ लाख ९ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सचिव बरुणकुमार खतिवडाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले गरेका गतिविधिबारे प्रस्ट्याउनुभयो । यस आर्थिक बर्षमा ४१ जना सदस्य वृद्धि भई कुल १ हजार ८६ जना शेयर सदस्य कायम भएको, ४ जना सेयर सदस्यका परिवारलाई मृतक राहत कोष वितरण, १६ जना जना सदस्यलाई सुत्केरी स्याहार खर्च वितरण गरिएको सचिव खतिवडाले जानकारी दिनुभयो । सहकारीले आ.व. २०८०/०८१ का लागि नयाँ कार्यक्रम थप्दै र पुराना कार्यक्रमलाई निरन्तरता पनि दिने जनाइएको छ । प्रत्येक सेयर सदस्यको सेयर १५ हजार पु¥याउने र ऋण लिँदा प्रति दुई हजारमा एक कित्ता सेयर अनिवार्य थप गर्दै लैजाने जनाएको छ भने सेयर सदस्य संख्या १४ सय पु¥याउने सहकारीको लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक मन्दीलाई ध्यानमा राख्दै सेयर बचत अनुपात अनुसार कर्जा प्रवाह ८ लाख रुपैयाँसम्म गरिने जानकारी दिइएको छ । सहकारीले नयाँ सेयर सदस्यका लागि दुई हजार रुपैयाँमै सदस्य बन्न सकिने प्रस्ताव पनि गरेको छ । जसमा १० कित्ता सेयर खरिद गर्दा एक हजार, प्रवेश शुल्क एक सय, राहत कोष पाँच सय र मासिक बचत चार सय गरेर कुल दुई हजार रुपैयाँमा नयाँ सेयर सदस्य बन्न सकिने सचिवको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा ऋण उपसमितिका संयोजक माधव नारायण तुलाधरले ऋण उपसमितिको प्रतिवेदन र लेखा समिति संयोजक कपिल प्रसाद पराजुलीले आन्तरिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सहकारीको साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ता बुद्धि बहादुर आले र असल ऋणी संगीता पौडेललाई सम्मान गरिएको थियो भने एसईईमा सामुदायिक र संस्थागत विद्यालयतर्फ उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई नगद रकमसहित पुरस्कृत गरिएको थियो । सामुदायिक विद्यालयतर्फ जिपिए ३.६५ अंक ल्याउने ज्योति माविकी छात्रा पवित्रा तिमल्सिना र संस्थागत विद्यालयतर्फ ३.९० अंक ल्याउने तासिर बोर्डिङ स्कुलका मणिराज बराललाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा ज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडा, सहकारीका सल्लाहकार केशव पण्डित, सेयर सदस्यका तर्फबाट तुलसी गिरी लगायतले मन्तव्य राख्नुभएको थियो ।