हेटौँडाः हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयले शुक्रबार निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । गत शुक्रबार ‘राष्ट्र विकासमा युवाको भूमिका’ शीर्षकमा स्थलगत लेखन गराइएको थियो । कक्षा ११ तथा १२ का विद्यार्थी सहभागी प्रतियोगितामा २० जना विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगिताका विजितहरूलाई शुक्रबार पुरस्कार प्रदान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इवाकर मैनालीले विद्यार्थीहरूलाई पुरस्काररूपमा व्याकरणका पुस्तक, कापी तथा डटपेन प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक जिधराज ढकालको पनि उपस्थिति रहेको थियो । नेपाली भाषाशिक्षक रमेशमोहन अधिकारी तथा विश्वनाथ सञ्जेलको निर्णायकत्वमा प्रथम, द्वितीय तथा तृतीयमा क्रमशः माधव पुडासैनी, रोमप्रसाद ढकाल तथा रिना थिङ विजयी घोषणा गरिएका थिए । कार्यक्रममा कक्षा ११ र १२ का संयोजक आत्माराम दाहाल, माध्यमिक तह संयोजक धनराज फयँल तथा प्रकाश लम्साल, विव्यस सदस्य कृष्णप्रसाद अर्याललगायतको उपस्थिति थियो ।