हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा एक वर्षे एनेस्थेसिया सहायकको तालिम सुरु भएको छ । आइतबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले तालिमको उद्घाटन गर्नुभयो ।
तालिमलाई सम्बोधन गर्नुहुँदै सचिव तिवारीले अहिले प्रदेश सरकारले एनेस्थेसिया जनशक्तिको उत्पादन गर्न तालिम सुरु गरेको बताउनुभयो । यसअघि मन्त्रालयले विभिन्न पटक सुचना निकाले पनि उक्त जनशक्ति नपाएपछि मन्त्रालय आफैले तालिम सञ्चालन गरेर जनशक्ति उत्पादन गर्न लागेको उहाँले बताउनुभयो । एनेस्थेसिया जनशक्ति तयार गर्दा सुरक्षित मातृत्व कायम हुने उहाँको भनाई छ । एक वर्षे तालिम लिएपछि प्रदेश मातहतका अस्पतालहरुमा सेवाको अवसर पाउने उहाँले बताउनुभयो । आफैले निर्णय गरेकोले काम गर्न कुनै बाधा नहुने उहाँको भनाई छ ।
यस्तै प्रतिष्ठानका निर्देशक तथा तालिम संयोजक सागर प्रसाद घिमिरेले मातृ मुत्युदर घटाउन एनेस्थेसिया जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । अहिले एनेस्थेसिया जनशक्ति पर्याप्त नहुँदा अस्पतालमा समस्या भइरहेको उहाँले बताउनुभयो । एनेस्थेसियाको अनुपस्थितिमा शल्यक्रिया सेवा नै बन्द गर्नुपर्ने अवस्था देखा पर्ने उहाँले बताउनुभयो ।
जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने काम स्वास्थ्यकर्मी एनेस्थेसियाले गर्दछ । तालिममा तीन जना प्रशिक्षार्थीहरु सहभागिता छन् । मन्त्रालयले निकालेको सुचनामा पाँच जनाले निवेदन दिएकोमा तीन जना छनौट भएका हुन् । छनौट हुनेमा हेटौंडा अस्पतालमा कार्यरत हेल्थ असिष्टेन्ट सन्तोष कुमार माझी र सुरेश मोक्तान रहेका छन् । यस्तै धादिङ जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्स मेरी तामाङ रहेकी छन् । सहभागीमध्ये माझीले स्वास्थ्य मन्त्रालयबाट पूर्ण छात्रवृत्ति पाएका छन् भने दुई जनाले ३ लाख रुपैयाँ बुझाउनुपर्नेछ ।
तालिम उद्घाटन कार्यक्रममा डाक्टर सुरेन्द्र शेरचन, डाक्टर दुर्गा कुमारी खड्का र अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।