बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो बाटोको निर्माणमा ढिलाइ भइरहेको छ । मुलुकमा संघीयता कार्यान्वयनसँगै हेटौंडालाई बागमती प्रदेशको अस्थायी राजधानी कायम गरिएसँगै हेटौंडा–काठमाडौंबीचको छोटा वैकल्पिक मार्गहरुको स्तरोन्नतिका लागि प्रयास सुरु भएको थियो । हेटौंडाबाट त्रिभुवन राजपथको भैंसेसम्म ११ किलोमिटर सडक स्तरीय छ । भैंसे–भीमफेदी खण्डको करिब ११ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको करिब ४ वर्षसम्म अझै पूरा हुन सकेको छैन । भीमफेदीबाट देउराली हुँदै कुलेखानीसम्मको करिब १६ किलोमिटर सडक केही चौडा पारेर स्तरीकरणको काम करिब २ वर्षअघि नै सम्पन्न भइसकेको छ । कुलेखानीदेखि काठमाडौं जाने चारवटा मार्गहरुको विस्तार र स्तरीकरणको काम वर्षौंदेखि चलिरहेको भए पनि खासै प्रगति हुन सकेको छैन ।
हेटौंडाबाट भीमफेदी हुँदै कुलेखानी पुगेपछि काठमाडौं जानका लागि चारवटा वैकल्पिक मार्गहरु प्रयोग भइरहेका छन् । कुलेखानीबाट सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौं जाने, कुलेखानीबाट फाखेल, हुमानेभञ्ज्याङ, फर्पिङ हुँदै काठमाडौं जाने, कुलेखानीबाट फाखेल, चखेल, मातातीर्थ हुँदै काठमाडौं जाने र कुलेखानीबाट मार्खु, चित्लाङ, चन्द्रागिरी हुँदै काठमाडौं जाने चारवटा वैकल्पिक मार्गहरु रहेका छन् । यी सबै मार्गहरुमा अहिले स्तरीकरण तथा विस्तारको काम भइरहेको भए पनि निर्माण सम्पन्न हुन सकेको छैन । धेरै वर्षदेखि स्तरीकरण र विस्तारको काम भइरहेको चारवटै मार्गको काम अलपत्र बनिरहेको छ । सडक निर्माण सहज बनाउन समय–समयमा सवारी आवागमन बन्द गरेर काम गरिएको भए पनि काममा तिब्रता आउन सकेको छैन । यसले हेटौंडा–काठमाडौं बीचको यात्रा कष्टकर र जोखिमपूर्ण बनिरहेको छ ।
कुलेखानीबाट काठमाडौं पुग्ने चारवटा वैकल्पिक बाटोमध्ये सबैभन्दा छोटो दुरीको चखेल–मातातीर्थ सडकखण्डको निर्माण कार्य चाँडो सक्न प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । बुधबार बर्तौलाले उक्त सडकखण्ड निर्माण छिटो पूरा गर्न निर्देशन दिएका हुन् । २०७६ सालमा २३ करोड रुपैयाँमा ठेक्का सकारेर २२ महिनाभित्र उक्त सडकखण्ड निर्माण सम्पन्न गर्ने सम्झौता गरेको भए पनि सडक निर्माणको काम आधाजति बाँकी छ । निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलासम्म पनि काम सम्पन्न नभएपछि सांसद बर्तौलाले निर्माण व्यवसायी निर्माण कार्य चाँडो सकाउन निर्देशन दिएका हुन् । निर्देशनपछि निर्माण व्यवसायीले एक–दुई दिनमै कामदार थप गरी बाटो बन्द गरेर भए पनि निर्माण कार्यलाई तिब्रता दिने बताए पनि कहिलेसम्म निर्माण सम्पन्न हुने निश्चित छैन । करिब १४ किलोमिटर दुरीको सडकखण्डको अझै करिब ४५ प्रतिशत निर्माण कार्य हुन बाँकी रहेको र पुरानो संरचनाहरु पनि भत्किएको अवस्थामा सडक निर्माण गुणस्तरीय हुने र चाँडै पूरा हुनेमा विश्वस्त हुन सकिने अवस्था छैन ।
हेटौंडा–काठमाडौं छोटो बाटो फराकिलो र स्तरीय भएमा मकवानपुरका मात्र नभई मध्य तराईका बासिन्दाहरु पनि प्रत्यक्ष लाभान्वित हुनेछन् । यसले यात्रुलाई सुविधामात्र नभई समय, इन्धन र गाडीका पार्टपूर्जामा हुने खराबीलाई समेत कम गर्दछ । तर, समयमा सडक स्तरीकरणको काम सम्पन्न नहुँदा राज्यको लगानी वृद्धि हुनुका साथै यात्रु तथा सवारी चालकले दुःख पाउँदै आएका छन् । हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको रुपमा अघि बढाइएका चखेल–मातातीर्थमात्र नभई सिस्नेरी, फाखेल तथा चित्लाङ हुँदै जाने सबै सडकखण्डहरु गुणस्तरीयरुपमा समयमै निर्माण सम्पन्न गराउन निर्माण व्यवसायीलाई सबै पक्षले दवाव दिनु आवश्यक छ । निर्माण कार्यको जिम्मा लिएर वर्षौंसम्म काम नगर्ने परिपाटीको अन्त्य नहुँदासम्म यस्ता समस्या आइरहने भएकाले विकास निर्माणका कामहरु समयमै सम्पन्न गर्न प्रेरित गर्ने र समयमा सम्पन्न नगर्नेलाई कडा कारबाही गर्ने नीति ल्याउनु आवश्यक छ ।