फोहर संकलनका लागि प्रयोग हुने ट्याक्टर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले फोहोर डम्पिङ गर्न जग्गाको खोजी गरिरहेको छ । हेटौंडाको विभिन्न क्षेत्रबाट उठेको फोहोरलाई व्यवस्थापन गर्न उपमहानगरपालिकाले केही वर्षदेखि जग्गा खोजी गरिरहेको उपमहानगरपालिकाको वातावरण शाखा प्रमुख चन्दा खड्काले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको गाडीले दैनिक उद्योग वाणिज्य संघ हुँदै सानोपोखरादेखि जिल्ला प्रहरी कार्यालय, बसपार्क, मानसचोक, स्कूलरोड, खोपेगल्ली हुँदै रजतजयन्ती रोडबाट फोहोर उठाउने गरेको छ । हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर १ को केही क्षेत्र तथा वडा नम्बर २, ४ र १० जस्ता बजारी क्षेत्रलाई केन्द्रित गरी फोहोर संकलन गर्दै आएको खड्काले बताउनुभयो । उपमहानगरपालिकासँग अहिले २ वटा सानो टिपर, २ वटा ट्याक्टर, एक कम्प्याक्टर र एउटा डम्पिङ साइटमै बस्ने व्याक–हो लोडर रहेको छ । संकलन भएको फोहोरलाई पालिकाले पुनःप्रयोग गर्न मिल्ने र नमिल्ने, कुहिने र नकुहिने छुट्याएर डम्पिङ साइटमा पठाउने गरेको छ ।

खड्काका अनुसार पालिकासँग सीमित स्रोत भएका कारण सबै फोहोर छुट्याउन सकिएको छैन । यस्तै, साधनका कारण सजिलो र मिल्ने प्लाष्टिकलाई मात्र पुनःप्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकामा संकलन भएको फोहोरलाई हेटौंडा–१० स्थित राप्ती खोला किनारमा व्यवस्थापन गर्ने गरिएको छ । उपमहानगरपालिकाले करिब १४ बिगाहा जग्गामा फोहोर व्यवस्थापन गर्ने गरेको छ । डम्पिङ साइटनजिक घर नभएका कारण मानिसको स्वास्थ्यमा असर नपर्ने खड्काले बताउनुभयो । फोहोर व्यवस्थापनमा अहिले सुधार आएको उहाँ बताउनुहुन्छ । अहिले पालिकाले डम्पिङ साइटलाई जस्ताले घेराबार गरेको छ भने दुर्गन्धबाट बच्ने व्यवस्था मिलाएको छ ।

हेटौंडामा एउटामात्र फोहोर व्यवस्थापन संस्था रहेको छ । हेटौंडा उपमहानगरपालिकाले बजारी क्षेत्र हेर्ने गरेको छ भने फोहोर व्यवस्थापन गर्ने हरियो र सफा शहर सेवा प्रालिले बजारका साथ गाउँतिरको फोहोरसमेत उठाउने गरेको प्रालिका सञ्चालक नवराज खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार संस्थाको ११ वटा गाडीले दैनिक २६ टन फोहोर संकलन गर्ने गरेको छ । उक्त संस्थाले वडा नम्बर १, २, ४, ५ र १० मा स्रोतमै फोहोर वर्गीकरण गर्ने गरेको छ भने अरु वडामा महिनाको २ पटक फोहोर संकलन गर्न जाने गरेको छ । बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिरहेको खतिवडाले बताउनुभयो ।

रुटअनुसार वडा नम्बर ८ हुँदै १८ सम्म महिनामा ५ पटक फोहोर संकलन गर्न जाने गरेको छ । बजारी क्षेत्रमा भने संस्थाको गाडी बिहान फलपूmलको फोहोर लिन र दिउँसो किराना पसलको फोहार लिन जाने गरेको खतिवडाले बताउनुभयो । खतिवडाका अनुसार सरकारी कार्यालयतिर महिनामा २ पटक गाडी जाने गरेको छ । हरियो र सफा शहर सेवा प्रालिले फोहोर उठाएबापत सेवा शुल्क लिने गरेको छ । महिनामा २ पटक जाने क्षेत्रमा मासिक एक सय, महिनामा ४ पटक जाने क्षेत्रमा मासिक १ सय ४० र हप्ताको ४ पटक जाने क्षेत्रमा मासिक २ सय रुपैयाँ शुल्क उठाउने गरेको छ । हेटौंडा उपमहानगरपालिकाले २ लाख बजेट छुट्याई पालिकाको आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा ५० लिटरको १ सय २६ वटा डस्टबिन हस्तान्तरण गर्न प्रक्रियामा रहेको खरिद शाखा अधिकृत बसन्त सिटौलाले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शान्ति विश्वकर्माका अनुसार सडकमा बालबालिकाले फोहोर उठाएको पाइएमा उद्दार गरिने बताउनुभयो । बालबालिकालाई सानै उमेरमा ज्यालादारी काम गराउने व्यक्तिलाई तुरुन्तै कानुनी दायरामा ल्याइने उहाँले बताउनुभयो । बालबालिकाले सानै उमेरदेखि गाह्रो काम गर्न थालेमा बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा असर पुग्नसक्छ । सडक, होटललगायत विभिन्न ठाउँमा बालबालिकालाई काम गरेको देखेमा श्रम कार्यालय, उपमहानगरपालिका, प्रहरी कार्यालय तथा बाल हेल्पलाइनमा सम्पर्क गर्नुपर्छ भन्ने जनचेतना जगाउनसमेत आवश्यक रहेको उहाँको भनाइ छ ।