हेटौंडाः बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविन बाल हेल्पलाईन मकवानपुरले ६ वटा बालविवाह रोक्न सफल भएको छ । बालहेल्पलाईन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिक मसान्तसम्म ६ वटा बालविवाह रोक्न सफल भएको हो । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा ६ वटा बालविवाहका मुद्दा दर्ता भएकोमा ६ वटै रोक्न सफल भएको हो । जुन घटनामा ५ जना बालिका रहेका छन् भने एक जना बालक संलग्न थिए ।

गत आर्थिक वर्ष २०७९/८० मा ४२ वटा बालविवाह घटना बाल हेल्पलाईनमा दर्ता भएको थियो । जसमध्ये ३५ वटा बालविवाह रोक्न सफल भएको ज्ञवालीले जानकारी दिनुभएको छ । गत आर्थिक वर्षमा हेटौंडा उपमहानरपालिकामा सबैभन्दा बढी बालविवाहका घटना भएको देखिएको छ । गत आर्थिक वर्षमा हेटौंडामा सबैभन्दा बढी ११ बालविवाहका घटना भएको थियो । जसमा ६ जना बालिका र ५ जना बालक बालविवाह संलग्न थिए । यस्तै मकवानपुरगढी गाउँपालिकामा १० वटा बालविवाहका घटना भएको थियो । जसमा ६ जना बालिका र ४ जना बालक घटनामा संलग्न थिए ।

यस्तै मनहरी गाउँपालिकामा ७ वटा बालविवाहका घटना भएको थियो । जसमा ६ जना बालिका र एक जना बालक बालविवाहमा संलग्न थिए । यस्तै कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकामा समान ४–४ वटा बालविवाहका घटना भएको थियो । बागमती र राक्सिराङ गाउँपालिकामा समान एक–एक बालविवाहका घटना भएको थियो । गत आर्थिक वर्षमा मकवानपुरको इन्द्रसरोवर, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा भने बालविवाहका कुनै घटना भएनन् । आर्थिक वर्ष २०७८/७९ मा ४७ वटा बालविवाहका घटना भएकोमा ४० वटा बालहेल्पलाईनले रोकेको थियो ।