हेटौंडाः गतसाता सम्पन्न भएको स्वर्गीय सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । आयोजक एफसी मुण्डियालले मंगलबार प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो ।
मंसिर ५ गतेदेखि १३ गतेसम्म हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको प्रतियोगितामा आयोजकलाई १ लाख ७ हजार रुपैयाँ घाटा भएको जनाइएको छ । घाटा भएको रकम क्लबका अध्यक्ष सुविन घिमिरेले व्यहोर्ने बताइएको छ । प्रतियोगितामा ७ लाख ३ हजार २ सय २५ रुपैयाँ खर्च भएको थियो । जसमा विभिन्न दाताहरुबाट ५ लाख ९५ हजार रुपैयाँ संकलन भएको बताइएको छ । संकलन भएको रकममध्ये २ लाख ३४ हजार रुपैयाँ पुरस्कारमा खर्च भएको हो ।
यस्तै, आयोजक र रेफ्रीका लागि ४५ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । स्टेज सजावटका लागि २९ हजार १ सय रुपैयाँ, प्रचारप्रसारका लागि ७६ हजार ५ सय रुपैयाँ, चौर मर्मत तथा सम्भारका लागि २८ हजार ५ सय रुपैयाँ, प्रतियोगिता अवधिभर चिया तथा खाजा खर्चमा ४० हजार रुपैयाँ र विविधमा ८ हजार ९ सय ५० रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिता सञ्चालन गर्दा नाफा भएमा जाजरकोट र रुकुमका भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय गरेको थियो । १४ टिम सहभागी प्रतियोगिताको उपाधि रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुरले जितेको थियो ।