युक्तलाल बिश्वकर्मा, शिक्षक, जनप्रिय मावि (प्राविधिक विद्यालय)

विद्यार्थीलाई प्रभावकारी शिक्षण सिकाईका लागि निक्कै मिहिनेत गर्नुपर्ने आवश्यकता छ । विद्यालय तहका विद्यार्थीको प्रभावकारी सिकाईका लागि आवश्यक विषयमा निरन्तर अध्ययन, अनुसन्धान गरिरहनु जरुरी छ । नेपाल सरकारलाई प्रभावकारी विद्यालय शिक्षाको विषयमा निरन्तर आव्हान गरिरहँदा पनि राज्य जिम्मेवार हुन नसकेको अवस्थामा पछिल्लो समय नागरिकस्तरबाट प्रभावकारी शिक्षामा अध्ययन, अनुसन्धान, प्रयोग र समीक्षा भइरहेको छ । यस्तै प्रयासअन्तर्गत कारखाना समूहले हेटौँडा उपमहानगरका १० वटा विद्यालयलाई लक्षित गरी हेटौँडा–१६ स्थित जनप्रिय माविमा शिक्षक, विद्यार्थी प्रशिक्षण तथा अभ्यास भइरहेको छ । प्रभावकारी शिक्षण सिकाईका लागि भइरहेको प्रयासका विषयमा जनप्रिय माविका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक युक्तलाल बिश्वकर्मासँग समृद्ध समाजकी सुप्रभा चौलागाईले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः अहिले विद्यालयमा कसरी अध्ययन अध्यापन भैरहेको छ ?
बिकः
विद्यालयमा विभिन्न विधामा पढाई भैरहेको छ । जहाँ प्रविधिक क्षेत्रहरुमा पनि पढाई भैरहेको छ । विदापछि अहिले विद्यालयमा विद्यार्थीहरुको चाप पनि बढेको छ । प्रत्येक कक्षाकोठामा स्मार्ट टिभिहरु राखिएको छ । सोबाट प्रविधियुक्त अध्ययन अध्यापन भैरहेको छ ।

समाजः विद्यालयमा के–के सुविधाहरु थपिँदै छन् ?
बिकः
सुविधामा अहिले विभिन्न विषयको प्रदर्शनका लागि आफ्नै आफ्नै ल्याब छन् । गणितको ल्याब, विज्ञान ल्याब र अरु विषयका लागि निर्माण हुँदैछ । एउटा रेकर्डिङ् स्टुडियो पनि बनेको छ । सबैमा गणित ल्याब उत्कृष्ट छ । र सोको अवलोकनका लागि भनेर विभिन्न विद्यालयबाट पनि शिक्षक, विद्यार्थीहरु आउने गर्नु भएको छ ।

समाजः तपाई पढाउने विषयमा विद्यार्थीहरुको सक्रियता कतिको छ ?
बिकः
मेरो विषय नेपाली हो । कक्षा ८ सम्मका विद्यार्थीहरुलाई पढाउनु पर्छ । अहिले विद्यार्थीहरु नेपाली विषयलाई सजिलो विषय भनी ध्यान नदिएको देख्छु । तर यो विषय पनि महत्वपूर्ण छ । पछि साहित्यको क्षेत्रमा काम लाग्छ । त्यसैले सबै विषय महत्वपूर्ण छ र विद्यार्थीहरुको सक्रियता पनि रहन्छ ।

समाजः विद्यालमा हुने अतिरिक्त क्रियाकलापहरु के–के छन् ? व्यवस्थापन कसरी गरिन्छ ?
बिकः
अतिरिक्त क्रियाकलाप शिक्षण सिकाईको महत्वपूर्ण पाटो हो । हामीले अतिरिक्त क्रियाकलापमा निमित्त अतिरिक्त तथा साँस्कृतिक विभाग बनाएका छौँ । जहाँ संस्कृति, मिडिया लगायत विभिन्न विभागहरु छन् । अतिरिक्त तथा साँस्कृतिक विभागको संयोजक भएको नाताले म बढी विद्यार्थीहरुलाई के गराउँदा सिकाइको उपलब्धी हुन्छ भन्ने कुराको ख्याल राख्छु । अतिरिक्त क्रियाकलापका लागि पूरा वर्षभरी के–के क्रियाकलाप तथा कार्यक्रमहरु गर्ने भनी वार्षिक क्यालेन्डर बनाई मनोरञ्जनात्मक कार्य गरिन्छ ।

समाजः कारखानाको खेल्दै सिक्दै कार्यक्रमको विषयमा तपाईको भूमिका के छ ?
बिकः
खेल्दै सिक्दै कार्यक्रम हेटौँडा उपमहानगर भित्रका १० विद्यालयमा भैरहेको छ र म यस कार्यक्रमको निरीक्षक हुँ ।

समाजः खेल्दै सिक्दै कार्यक्रम के हो ?
बिकः
खेल्दै सिक्दै कार्यक्रम कारखानाको सहकार्य तथा जनप्रिय माविको आयोजनामा भएको कार्यक्रम हो । यस कार्यक्रमको अहिले हामी तेश्रो चरणमा छौं । १० विद्यालयका २ जना शिक्षक गरी २० जना शिक्षकहरुलाई अहिले तालिम दिइँदै छ । यस कार्यक्रमको बारेमा भन्नु पर्दा यो विद्यार्थीहरुलाई पढाउने फरक र प्रभावशाली शैली हो । यसबाट विद्यार्थीहरुलाई सिकाउँदै र रमाउँदै पाठ पढाउन सकिन्छ ।

समाजः कुन विषयको कार्यक्रम हो ? तालिम पाउनु भएका शिक्षकहरु पनि कुन विषयसँग सम्बन्धित छन् ?
बिकः
यसमा खासगरी विज्ञान र गणित विषयका कुरा बढी छन् । सामग्री बनाई त्यो विषयको अध्ययन गर्न यसले सहजीकरण गर्छ । तालिम पाउनु भएका शिक्षकहरु खासगरी विज्ञान र गणित विषयको हुनुहुन्छ । र यहि विषयमा आधारित कार्यक्रम हो ।

समाजः खेल्दै सिक्दै कार्यक्रम कतिको प्रभावकारी छ ?
बिकः
यो कार्यक्रम मैले मात्र होइन कारखानाका शिक्षकहरुसँग सल्लाह गर्दा उहाँहरुले पनि प्रभावकारी रहने बताउनुहन्छ । यो कार्यक्रम भैरहेको विद्यालयहरुमा म पनि पुगेको छु । त्यहाँ विद्यार्थीहरु पनि उत्साहित हुनुहुन्छ ।