हेटौंडाः छैटौँ संस्करणको हेटौंडा उपमहानगरपालिकास्तरीय उपमेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि वडा नम्बर १७ र महिलातर्फको उपाधि वडा नम्बर ९ ले जितेको छ । हेटौंडा–१९, नेवारपानीमा भएको फाइनल खेलमा पुरुषतर्फ ११ नम्बर वडालाई ३–२ सेटले हराउँदै वडा नम्बर १७ ले उपाधि जितेको हो भने महिलातर्फ वडा नम्बर १२ लाई ३–१ सेटले हराउँदै ९ नम्बरले उपाधि जितेको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको वडा नम्बर १७ ले दोस्रो र तेस्रो सेटमा २५–२२ र २५–२३ ले आफ्नो पक्ष पारेको थियो । चौथो सेट १७–२५ ले गुमाए पनि अन्तिम सेटमा १५–१७ ले पराजित गर्दै उपाधि आफ्नो नाममा पा¥यो । महिलातर्फको खेलमा पहिलो सेट २५–१७ ले गुमाएको वडा ९ ले दोस्रो, तेस्रो र चौथो सेटमा २५–१६, २५–२३ र २५–२२ ले वडा १२ लाई पराजित गर्दै उपाधि जितेको हो ।
पुरुषतर्फ शनिबार बिहान भएको सेमिफाइनल खेलमा वडा नम्बर ५ लाई ३–१ सेटले हराउँदै वडा नम्बर १७ फाइनलमा प्रवेश गरेको थियो भने १९ नम्बर वडालाई ३–२ सेटले पराजित गदै वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको थियो । महिलातर्फको सेमीफाइनल खेलमा वडा ९ ले १४ लाई ३–१ को सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

पुरुषतर्फ वडा नम्बर १६ का खेलाडी विवश तिमल्सिना उदियमान खेलाडी घोषित भएका छन् । वडा ११ का निश्चल लामा उत्कृष्ट स्पाइकर घोषित भएका छन् भने वडा १७ का कमल बिडारी उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । वडा १७ का विनोद माझी सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
महिलातर्फ वडा १९ बाट सिम्रन स्याङ्बो र वडा १२ बाट प्रतीक्षा माझी उदियमान खेलाडी घोषित भए । उत्कृष्ट स्पाइकर चमेली स्याङ्बो घोषित भए । उत्कृष्ट सेटर वडा १२ का प्रशंसा भोम्जन घोषित भए । उत्कृष्ट कोच वडा १२ का रवि बस्नेत घोषित भए भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडी वडा ९ का आयुषा सिंह घोषित भए ।
प्रतियोगितामा पुरुषतर्फ १२ वटा वडाका टिम र महिलातर्फ ७ वटा वडाका टिमको सहभागिता रहेको थियो । प्रतियोगताको विजेता पुरुषतर्फको वडा नम्बर १७ र महिलातर्फको ९ नम्बर ले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् भने सेमिफाइनलमा पराजित हुने टिमले १०–१० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण कार्यक्रममा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौला, मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी, जिल्ला खेलकुद विकास समितिका पूर्व कार्यालय प्रमुख राजन दहाल खुशराज, वडा–९ का अध्यक्ष सुकराम केसीलगायतको उपस्थिति रहेको थियो ।