बागमती गाउँपालिकाका खेलाडीहरु ।

हेटौंडाः अखिल नेपाल खेलकुद महासंघको आयोजनामा मकवानपुरको बकैया गाउँपालिकामा जारी शहीद स्मृति अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार २ वटा सेमिफाइन खेलहरु सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको हो ।

बकैया–४ स्थित जुरेली मैदानमा भएको खेलमा बागमती गाउँपालिका र मनहरी गाउँपालिका फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा बागमती गाउँपालिकाले प्रदेश प्रहरी कार्यालय मकवानपुरलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएर खेल ट्राइब्रेकरमा पुगेको थियो । खेलमा बागमती गाउँपालिकाका सरोज राई म्यान अफ द म्याच घोषित भए ।

शुक्रबारै भएको दोस्रो सेमिफाइनल खेलमा मनहरी गाउँपालिका फाइनलमा प्रवेश गरेको छ । मनहरी गाउँपालिकाले बकैयालाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय अवधिभर दुबै पक्षबाट गोल नभएकाले ट्राइब्रेकरको सहारा लिनु परेको थियो । खेलको म्यान अफ द म्याच मनहरीका क्रिशल मोक्तान घोषित भए ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल आज शनिबार दिउँसो १ बजे हुनेछ ।