हेटौंडाः यमपञ्चक अर्थात् तिहार आज शनिबारबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीबाट सुरु हुने तिहार नेपालीहरुको दोस्रो ठूलो पर्व हो ।
आज शनिबार कागतिहार मनाइँदैछ । यसै दिन धन्वन्तरी जयन्ती र किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्मजयन्ती पनि मनाइँदैछ । यसवर्ष धनत्रयोदशी व्रत (धनतरेस) भने शुक्रबार नै परेको छ ।
आज शनिबारबाट ५ दिनसम्म साँझ यमदीप दान गर्ने गरिन्छ । कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीप दान गर्ने धार्मिक विधि रहेको छ । यमदीप दान गरेमा यमराजको यातनाबाट मुक्ति पाइने धार्मिक मान्यता रहेको छ ।
भोलि आइतबार कार्तिक कृष्ण चतुर्दशीका दिन बिहान कुकुरतिहार मनाइँदैछ भने साँझ लक्ष्मीपूजा गरिँदैछ । यसवर्ष कागतिहार र लक्ष्मीपूजा दुबै एकै दिन परेको छ । आइतबार नरक चतुर्दशी रहेकाले बिहान नर्के नुहाउने गरिन्छ ।
सोमबार बिहान गाईतिहार र मंगलबार गोवर्धन पूजा मनाइनेछ । नेवार समुदायले मनाउने म्हः पूजा पनि मंगलबार नै परेको छ । यसै दिनबाट नेपाल सम्बत ११४४ सुरु हुँदैछ ।
बुधबार कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका र किजा पूजा रहेको छ । यसवर्षको भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।