हेटौँडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको नवौं सभा सोमबार सम्पन्न भएको छ । जिसस मकवानपुरका प्रमुख लिलाबहादुर घलानको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा जिल्ला सभा भएको हो । सभामा समन्वय प्रमुख घलानले गत आर्थिक वर्षमा सम्पन्न गरेका कामको सूचि र सार्वजनिक गर्नुभएको थियो । उपप्रमुख सानुकाजी लइटेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुलुकमा व्यवस्था परिवर्तन भए पनि काम गर्ने तरिका परिवर्तन नभएको बताउनुभयो । प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना बनाउन लागेको र प्रदेश सरकारबाट के अपेक्षा गरेको छ भनेर ११९ वटै पालिकालाई सोध्न नीति तथा योजना आयोगलाई निर्देशन दिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले ढुंगा, गिट्टी, बालुवाको उत्खनन्, प्रशोधन र विक्री वितरण रोक्न नहुने उल्लेख गर्नुहुँदै कानुनीरुपमा बचेर व्यवहारमा लचिलो हुनुपर्ने उहाँको भनाइ थियो ।
जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले जिल्लाको समग्र विकासमा राजनीतिक दलहरुले एकमत भएर काम गर्नुपर्ने बताउनुभयो । पालिकाको मुकामसम्म पुग्न पक्की सडक निर्माणमा पनि जिल्ला समन्वय समितिले आवश्यक सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । जिल्ला सभामा प्रतिनिधि सभा सदस्य विन्दवासिनी कंशाकार, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, गोमा तिमल्सिना, प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, जिल्ला विकास समिति मकवानपुरका पूर्वसभापति रामेश्वर राना, जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख रघुनाथ खुलालको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।