बजार अनुगमन गर्दै प्रशासन नेतृत्वको टोली ।

हेटौँडाः मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईको नेतृत्व एवम् सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा सोमबार हेटौँडा बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर, हेटौँडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सहितको टोलीले हेटौँडा बजार क्षेत्रमा रहेका ९ वटा पसल तथा व्यवसायको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ३ वटा पसलमा ५ सय २२ बोरा चिनी मौज्दात देखिएकोमा सो चिनीलाई बजारमा नियमित रूपमा विक्री वितरण गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनुगमन टोलीले उपभोक्ता हित कानून विपरित कार्य गर्ने ३ पसल व्यवसायलाई एक लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै ३ वटा पसलबाट एक लाख २२ हजार रुपैयाँ बराबरको म्याद नाघेका सामग्रीहरू जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।